असोज ९–१० मा जनमत पार्टीको महाधिवेशन, निर्वाचनको समीक्षा पनि

असोज ९–१० मा जनमत पार्टीको महाधिवेशन, निर्वाचनको समीक्षा पनि
मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ ३०, शनिबार ०७:०७
असोज ९–१० मा जनमत पार्टीको महाधिवेशन, निर्वाचनको समीक्षा पनि

जनकपुरधाम : जनमत पार्टीले आगामी असोज ९ र १० गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। तीन दिनसम्म चलेको केन्द्रीय बैठकले महाधिवेशनको मिति तय गरेको हो। यद्यपि, महाधिवेशन हुने स्थान भने अझै टुंगो लागेको छैन।

पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीका अनुसार बैठकले महाधिवेशनको तयारीसँगै फाल्गुन २१ गाते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षासमेत गरेको छ। उक्त निर्वाचनमा जनमत पार्टीले कुनै पनि सिट जित्न नसकेको थियो।

ADVERTISEMENT

निर्वाचन परिणामबारे समीक्षा गर्दै उपाध्यक्ष चौधरीले उपनिर्वाचनमा ‘बालेन फ्याक्टर’ प्रभावशाली रूपमा देखिएको र विभिन्न राजनीतिक समीकरण तथा ‘थ्योरी अफ कन्सपिरेसी’ ले पनि परिणाममा असर पारेको निष्कर्ष बैठकले निकालेको बताए।

उनका अनुसार मतदाताले परम्परागत राजनीतिक दलभन्दा परिवर्तनको पक्षमा मत व्यक्त गरेका कारण पुराना दलहरू अपेक्षित परिणाम हासिल गर्न असफल भएका छन्। साथै, निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनका पछाडि संगठनभित्रका केही आन्तरिक कमजोरीहरू पनि जिम्मेवार रहेको निष्कर्ष बैठकले निकालेको छ।

बैठकमा देशभरका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले जिल्लागत प्रतिवेदन प्रस्तुत गर्नुका साथै संगठन सुदृढीकरण र आगामी रणनीतिबारे सुझाव दिएका थिए। प्राप्त सुझावका आधारमा पार्टीलाई थप प्रभावकारी ढंगले अघि बढाइने जनाइएको छ।

यसैबीच, बैठकले पार्टीको विधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। विधान संशोधनका विषयमा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता तथा सरोकारवालासँग व्यापक परामर्श गरी आवश्यक सुझाव संकलन गरिने जनमत पार्टीले जनाएको छ।

प्रकाशित मिति: २०८३ जेष्ठ ३०, शनिबार ०७:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !