बाढीले कमला नदीको अस्थायी बाटो बगाउँदा सयौँ यात्रु अलपत्र

बाढीले कमला नदीको अस्थायी बाटो बगाउँदा सयौँ यात्रु अलपत्र
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १९, शनिबार २०:४०
बाढीले कमला नदीको अस्थायी बाटो बगाउँदा सयौँ यात्रु अलपत्र

जनकपुरधाम : सिरहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन फेरि बगिएको छ। निर्माणाधीन कमला पुल नजिक बनाइएको डाइभर्सन शनिबार बिहान बाढीले बगाएपछि दुई जिल्लाबीचको आवतजावत प्रभावित भएको हो।

केही दिनअघि परेको वर्षाले क्षति पुर्‍याएपछि मर्मत गरेर सञ्चालनमा ल्याइएको डाइभर्सन पुनः बगेपछि सयौं सवारीसाधन बाटोमै रोकिएका छन्। यात्रुहरूलाई गन्तव्यसम्म पुग्न समस्या भइरहेको छ।

ADVERTISEMENT

पुल क्षेत्रभन्दा करिब ३०० मिटर अगाडि माटो र बालुवाले बनाइएको अस्थायी बाँध बाढीले बगाएको हो।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले कमला नदीमा पानीको बहाव बढेकाले तत्काल मर्मत गर्न कठिन भएको बताए।

‘पश्चिमतर्फ पानीको बहाव धेरै छ। पानीको सतह घटेपछि नगरपालिकाको जेसिबी प्रयोग गरेर पुनः बाँध निर्माण गरिनेछ,’ उनले भने।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार घटनास्थलमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।

उनले हुलाकी राजमार्ग हुँदै कमला पार गरेर धनुषा जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए।

कमला नदीमाथिको पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीय बासिन्दाले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। पुल नबन्दा बर्खायाममा आवतजावत झन् कठिन हुने गरेको छ।

२०६८ जेठमा पप्पु–लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको पुल २०७१ मंसिरमै निर्माण सम्पन्न हुनुपर्ने थियो। तर हालसम्म निर्माण पूरा हुन सकेको छैन।

२०७८ असार १७ गते आएको बाढीले पुलका दुई वटा जग भासिँदा चार वटा स्ल्याबमा क्षति पुगेको थियो। तीमध्ये सिरहातर्फका दुई स्ल्याब हटाइएको छ भने धनुषातर्फका दुई स्ल्याब सुरक्षित रहेको प्राविधिक अध्ययनले देखाएको छ।

प्रकाशित मिति: २०८३ बैशाख १९, शनिबार २०:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !