३ हजार घरधुरीलाई लालपुर्जा दिलाउन संघर्ष गर्दै बीपी साह

३ हजार घरधुरीलाई लालपुर्जा दिलाउन संघर्ष गर्दै बीपी साह
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २९, बिहीबार १८:४२
३ हजार घरधुरीलाई लालपुर्जा दिलाउन संघर्ष गर्दै बीपी साह

सबैला (धनुषा): धनुषा जिल्लाको सबैला नगरपालिकाका करिब ३ हजारभन्दा बढी घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) दिलाउन अभियन्ता एवम् पूर्वमेयर उम्मेदवार बीपी साहले सङ्घर्ष जारी राखेका छन्।

भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिलाउन, नापी हुन बाँकी जग्गाको नापजाँच गराउन र सुकुम्बासीहरूलाई बसोबासको कानुनी अधिकार दिलाउन साहले पहिलो चरणको आन्दोलन सम्पन्न गरेका हुन्।

ADVERTISEMENT

साहले ‘लालपुर्जा दे, बिना घुस के’ (जग्गाधनी पुर्जा देउ, बिना घुस लिएर) भन्ने अभियान सबैला नगरपालिकाका १३ वटै वडामा सञ्चालन गरेका छन्।

असोज २२ गतेदेखि सुरु भई असोज २९ गते सम्पन्न भएको पहिलो चरणको कार्यक्रमअन्तर्गत साहले प्रत्येक वडा कार्यालयमा ज्ञापनपत्र बुझाउँदै दुई-दुई घण्टा धर्ना दिएका थिए। धर्नाकै क्रममा उनले वडा अध्यक्षहरूसँग हालसम्म वितरण भएका लालपुर्जा, नापी भएका जग्गा र सुकुम्बासीहरूका लागि भएका सिफारिसको विवरणसमेत सङ्कलन गरेका छन्।

अभियान्ता साहका अनुसार सबैला नगरपालिकाका कुल १२ हजार ५ सय घरधुरीमध्ये करिब ३ हजार घरधुरी अझै लालपुर्जाविहीन छन्। जसमध्ये ठूलो सङ्ख्यामा गाउँब्लकको जग्गा नापीसमेत हुन सकेको छैन।

वडागत समस्या र वस्तुस्थिति
• वडा नं. १: राजनीतिक विवादका कारण एउटा सिङ्गो टोलकै जग्गा नापी हुन सकेको छैन भने नापी भएका जग्गाधनीहरूले पनि लालपुर्जा पाएका छैनन्। अभियानका क्रममा वडा अध्यक्ष मिथिला साह सम्पर्कविहीन (मोबाइल अफ) रहेका थिए।

• वडा नं. २: अधिकांश जग्गा नापी भए पनि लालपुर्जा वितरण रोकिएको छ। करिब ४ सय घरधुरीको जग्गा नापी भएर पनि लालपुर्जाको प्रक्रियामा गएको छैन। करिब ४० घरधुरीका लागि मात्र लालपुर्जा सिफारिस गरिएको वडा अध्यक्ष मुकेश पूर्वेले जानकारी दिए।

• वडा नं. ३: वडा अध्यक्ष ताहिर मियाँले आफ्नो कार्यकालमा कसैलाई पनि लालपुर्जा वितरण नभएको बताएका छन्।

• वडा नं. ४: अधिकांश जग्गाको नापी सम्पन्न भए पनि लालपुर्जा वितरण हुन सकेको छैन भने केही क्षेत्रमा नापी नै बाँकी छ।

• वडा नं. ५: प्राविधिक त्रुटिका कारण यसअघि गरिएको नापी रद्द गरिएको वडा सचिवले जनाएका छन्।

• वडा नं. ६, ७ र ८: अधिकांश नागरिकले लालपुर्जा पाइसकेको वडा अध्यक्षहरूले जानकारी दिएका छन्।

• वडा नं. ९: दशैँपछि लालपुर्जा वितरणको तयारी भइरहेको वडा अध्यक्ष मनिष रायले बताए।

• वडा नं. १०: अदालतमा मुद्दा परेका कारण लालपुर्जाको सिफारिस रोकिएको छ भने कतिपय जग्गाको नापी हुन बाँकी छ।

• वडा नं. ११: ९० प्रतिशत जग्गाको लालपुर्जा वितरण भइसकेको वडा अध्यक्ष सरोज यादवले जानकारी दिए।

• वडा नं. १२ र १३: अधिकांश क्षेत्रमा लालपुर्जा वितरण भइसकेको वडा अध्यक्षहरूले जनाएका छन्।

अभियान्ता साहका अनुसार नगरपालिकाका कुल ७ वटा वडामा नापी र लालपुर्जाको गम्भीर समस्या कायम छ। भूमि आयोगले पत्राचार गरे पनि पालिकाबाट भूमिहीनहरूको यकिन तथ्याङ्क तयार भइनसकेको उहाँको भनाइ छ। पहिलो चरणको दबाबमूलक कार्यक्रम सकिएकाले दोस्रो चरणमा स्थानीय सरकारलाई जिम्मेवार बनाउन थप सशक्त आन्दोलन गर्ने साहले चेतावनी दिएका छन्।

यसअघि साहले सबैला नगरपालिका कार्यालयबाटै राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको व्यवस्था हुनुपर्ने माग राख्दै नगरप्रमुख कारिराम यादवलाई ज्ञापनपत्र बुझाउनुका साथै चार पटकसम्म धर्ना दिएका थिए।

साहको निरन्तरको आन्दोलन र दबाबपछि नगरप्रमुख यादवले राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणका लागि ‘सब-स्टेशन’ स्थापना गर्ने विषयमा पञ्जीकरण विभागसँग सम्झौतासमेत गरेका छन्। यद्यपि, सम्झौता भइसक्दा पनि हालसम्म पालिकामा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको कार्य भने सुरु हुन सकेको छैन।

प्रकाशित मिति: २०८३ आश्विन २९, बिहीबार १८:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !