कमला नगरपालिकाका शिक्षा शाखा प्रमुख जयसवालको सरुवा

कमला नगरपालिकाका शिक्षा शाखा प्रमुख जयसवालको सरुवा
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ७, बुधबार १२:१६
कमला नगरपालिकाका शिक्षा शाखा प्रमुख जयसवालको सरुवा

जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा लामो समयदेखि शिक्षा शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका अमित कुमार जयसवालको सरुवा भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जयसवाललाई धनुषाकै विदेह नगरपालिकामा सरुवा गरेको हो ।

ADVERTISEMENT

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भदौ ३१ गतेको सचिवस्तरीय निर्णयअनुसार जयसवाललाई स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा २५ को उपदफा (१) बमोजिम सरुवा गरिएको हो ।

असोज १ गते जारी गरिएको सरुवासम्बन्धी जानकारीअनुसार शिक्षा प्रशासन समूह, अधिकृतस्तर छैटौँ, अधिकृत पदमा कार्यरत जयसवाललाई विदेह नगरपालिकामा खटाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामकी शाखा अधिकृत विद्या तामाङले जानकारी गराएकी हुन् ।

जयसवालको सरुवासँगै कमला नगरपालिकाको शिक्षा क्षेत्रको अवस्था र सुधारका प्रयासबारे पनि प्रश्न उठेको छ ।

नगरपालिकामा लामो समयदेखि शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा रहे पनि शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको स्थानीयस्तरमा गुनासो छ । विशेषगरी, नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अहिलेसम्म विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको विषयले शिक्षा व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।

विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालयको व्यवस्थापन, अनुगमन तथा शैक्षिक सुधारका काममा समेत चुनौती देखिएको छ ।

जयसवालको सरुवापछि कमला नगरपालिकाको शिक्षा शाखाको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषयमा भने स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार १२:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !