गण्डकीमा मन्त्रिपरिषद् हेरफेर : ऊर्जा फणिन्द्रलाई, भौतिकको जिम्मेवारी नन्दप्रसादलाई

गण्डकीमा मन्त्रिपरिषद् हेरफेर : ऊर्जा फणिन्द्रलाई, भौतिकको जिम्मेवारी नन्दप्रसादलाई
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १७, बुधबार १२:४२
गण्डकीमा मन्त्रिपरिषद् हेरफेर : ऊर्जा फणिन्द्रलाई, भौतिकको जिम्मेवारी नन्दप्रसादलाई

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन्। ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी फणिन्द्र देवकोटालाई दिइएको छ भने नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ।

२१ जेठ २०८१ मा विश्वासको मत दिएर मन्त्रीसमेत बनेका नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद देवकोटा तत्कालीन माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका थिए। मुख्यमन्त्री पाण्डेले उनलाई पुनः ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन्। देवकोटाले मन्त्री पदको शपथसमेत लिइसकेका छन्।

ADVERTISEMENT

यसअघि ऊर्जा मन्त्रालय सम्हालिरहेका नन्दप्रसाद न्यौपानेलाई मुख्यमन्त्री पाण्डेले आफूसँग रहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका छन्।

केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच गठबन्धन बनेपछि गण्डकी प्रदेशमा एमालेका चार मन्त्रीले १० भदौमा राजीनामा दिएका थिए। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर, कृषि मन्त्री भीम कार्की, स्वास्थ्य मन्त्री लक्ष्मण पाण्डे र पर्यटन मन्त्री यशोदा रिमालले राजीनामा दिएका हुन्।

उनीहरूले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफैंसँग राखेका थिए।

यसअघि २०८१ जेठ १६ गते ठूलो दलको नेताको हैसियतमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए। उनले राप्रपाका दुई सांसद, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटालगायतको समर्थनमा विश्वासको मत प्राप्त गरेका थिए। त्यसपछि केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच सहकार्यको सहमति भएपछि एमाले पनि गण्डकी सरकारमा सहभागी भएको थियो।

प्रकाशित मिति: २०८३ भाद्र १७, बुधबार १२:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !