चिनियाँ राजदूत भन्छन्- नेपालतर्फ गएको भूकम्पका कारण पहिरो गयो

चिनियाँ राजदूत भन्छन्- नेपालतर्फ गएको भूकम्पका कारण पहिरो गयो
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ११, बिहीबार ११:४२
चिनियाँ राजदूत भन्छन्- नेपालतर्फ गएको भूकम्पका कारण पहिरो गयो

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण बाढी र पहिरो नेपालतर्फ गएको भूकम्पसँग सम्बन्धित हुन सक्ने प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्।

नेपाल टेलिभिजनको ‘एनटिभी वर्ल्ड’सँगको अन्तर्वार्तामा राजदूत चाङले विपद्को दिन बिहान नेपालतर्फ भूकम्प गएको र त्यसपछि हिमपहिरो तथा लेदोसहितको बाढी आएको प्रारम्भिक जानकारी रहेको बताएका हुन्।

ADVERTISEMENT

नेपालस्थित चिनियाँ दूतावासले सार्वजनिक गरेको विवरणअनुसार राजदूत चाङले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

उनका अनुसार हालसम्म प्राप्त प्रारम्भिक जानकारीले भूकम्पपछि हिमपहिरो गएको र त्यसलगत्तै लेदोसहितको बाढी आएको देखाएको छ। उक्त प्राकृतिक घटनाले केरुङ–रसुवागढी सीमा क्षेत्रको नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति पुर्‍याएको तथा धेरै मानिस बेपत्ता भएको उनले बताए।

चिनियाँ राष्ट्रपति सी चिनफिङले विपद्लाई उच्च प्राथमिकतामा राख्दै खोज तथा उद्धारलाई तीव्र बनाउन निर्देशन दिएको पनि राजदूत चाङले जानकारी दिए। राष्ट्रपति सीले बेपत्ताको खोजी, जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण र घाइतेको तत्काल उपचारमार्फत मानवीय क्षति न्यून गर्न निर्देशन दिएका छन्।

विपद्लगत्तै काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्नो आपत्कालीन संयन्त्र सक्रिय गर्दै प्रभावित क्षेत्रमा उद्धार कार्यको समन्वयका लागि कार्यदल परिचालन गरेको जनाएको छ।

सीमाको चीनतर्फ पनि ठूलो क्षति भए पनि नेपाललाई आपत्कालीन राहत सामग्री तथा नगद सहयोग उपलब्ध गराउन चीनले तत्काल समन्वय सुरु गरेको राजदूत चाङले बताए।

यसैबीच, चीनको राज्य परिषद्का उपप्रधानमन्त्री चाङ गोछिङ सम्बन्धित मन्त्रालयका अधिकारीहरूको नेतृत्व गर्दै उद्धार कार्यको मार्गदर्शन गर्न तिब्बत पुगेका छन्। चीनका परराष्ट्र, जलस्रोत, मौसम विज्ञान तथा आपत्कालीन व्यवस्थापनसम्बन्धी निकाय र तिब्बत स्वायत्त क्षेत्रका अधिकारीहरूले नेपाली समकक्षीसँग समन्वय गरी उद्धार तथा विपद् मूल्याङ्कनको काम अघि बढाएको जनाइएको छ।

राजदूत चाङले भविष्यमा यस्ता विपद्को प्रभाव न्यूनीकरण गर्न नेपाल र चीनबीच सूचना आदानप्रदान तथा पूर्वचेतावनी, आपत्कालीन उद्धारमा समन्वय र क्षमता अभिवृद्धिलगायत तीन क्षेत्रमा सहकार्य आवश्यक रहेको बताएका छन्।

मौसम विज्ञान, जलविज्ञान तथा भौगर्भिक विपद्का क्षेत्रमा अनुगमन र पूर्वचेतावनी प्रणाली सुदृढ गर्दै सीमापार विपद् सूचना आदानप्रदान संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। साथै, कर्मचारी तालिम, प्राविधिक ज्ञान आदानप्रदान र आपत्कालीन सामग्री सहयोगमार्फत स्थानीय स्तरको विपद् प्रतिकार्य क्षमता बढाउनुपर्ने उनको भनाइ छ।

संकटको घडीमा नेपाल सरकार र नेपाली जनताले देखाएको दृढता तथा प्रतिकार्य प्रयासको प्रशंसा गर्दै राजदूत चाङले नजिकको छिमेकीका रूपमा चीनले नेपाललाई ज्यान र सम्पत्तिको सुरक्षाका लागि हरसम्भव सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

प्रकाशित मिति: २०८३ भाद्र ११, बिहीबार ११:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !