रसुवा बाढीपछि सप्तरीका तीन दाजुभाइ सम्पर्कविहीन

रसुवा बाढीपछि सप्तरीका तीन दाजुभाइ सम्पर्कविहीन
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८३ भाद्र १०, बुधबार २१:३०
रसुवा बाढीपछि सप्तरीका तीन दाजुभाइ सम्पर्कविहीन

सप्तरी : रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको बाढीपछि सप्तरी बोदेबरसाइन नगरपालिका–८ काचनटोलका तीन दाजुभाइ सम्पर्कविहीन भएका छन् ।

बाढीपछि ३१ वर्षीय देवकुमार यादव, ३५ वर्षीय शिवकुमार यादव र २५ वर्षीय सचित यादवसँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ ।

ADVERTISEMENT

सम्पर्कविहीन तीनै जना रसुवास्थित एक हाइड्रोपावरमा कार्यरत थिए । देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाइजरका रूपमा कार्यरत रहेको परिवारको भनाइ छ ।

उनीहरूका बुवा लालबहादुर यादवका अनुसार बुधबार बिहान रसुवामा बाढी आएपछि तीनै छोरासँग सम्पर्क हुन सकेको छैन ।

अहिले आफ्ना छोराहरूको अवस्था अज्ञात रहेकाले तत्काल खोजी तथा उद्धार कार्य अघि बढाउन लालबहादुरले सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन भएपछि उनीहरूका परिवार तथा काचनटोलवासी चिन्तित बनेका छन् ।

भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र धादिङसहित तीन जिल्लामा ठूलो भौतिक र मानवीय क्षति भएको छ । चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशुली नदी किनारका धेरै बस्तीहरू बगेका छन् ।

प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार २१:३०
लोकेन्द्रप्रसाद यादव

लोकेन्द्रप्रसाद यादव

लेखक


तपाईको प्रतिक्रिया !