छिन्नमस्ता गाउँपालिकामा शिक्षा सुधारका लागि साझा अभियान, बैजनाथ यादवले उठाए समस्या

छिन्नमस्ता गाउँपालिकामा शिक्षा सुधारका लागि साझा अभियान, बैजनाथ यादवले उठाए समस्या
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८३ भाद्र ९, मंगलवार २३:३१
छिन्नमस्ता गाउँपालिकामा शिक्षा सुधारका लागि साझा अभियान, बैजनाथ यादवले उठाए समस्या

जनकपुरधाम : सप्तरीको छिन्नमस्ता गाउँपालिकाको शिक्षा क्षेत्र सुधारका लागि बैजनाथ यादवले ‘शिक्षा सुधारका लागि हाम्रो साझा अभियान’ सञ्चालन गरेका छन्। उनले गाउँपालिकाको शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्या पहिचान गर्दै समाधानका उपाय अघि सारेका छन्।

यादवले मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै छिन्नमस्ता गाउँपालिकाको शैक्षिक अवस्था सुधारका लागि समस्या पहिचान गरी प्रभावकारी समाधानतर्फ अघि बढ्नुपर्ने बताएका हुन्।

ADVERTISEMENT

उनका अनुसार विद्यालयमा पर्याप्त कक्षाकोठा, शौचालय, खानेपानी, पुस्तकालय, प्रयोगशाला तथा सूचना–प्रविधिका साधनको अभाव प्रमुख समस्याका रूपमा देखिएका छन्।

त्यस्तै, शिक्षाको गुणस्तर सुधारमा जनप्रतिनिधिको पर्याप्त चासो र प्राथमिकता नहुनु, विद्यालय व्यवस्थापनमा राजनीतिक हस्तक्षेप हुनु तथा शिक्षक र विद्यालय प्रशासनको जिम्मेवारी स्पष्ट नहुनु पनि समस्या रहेको उनले उल्लेख गरेका छन्।

सरकारले बनाएका शिक्षा सम्बन्धी नीति, ऐन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसकेको, शैक्षिक कार्यक्रममा अभिभावक, समुदाय तथा स्थानीय सरोकारवालाको सहभागिता न्यून रहेको र केही नागरिक तथा अभिभावकमा शिक्षाप्रतिको पर्याप्त चेतना नहुँदा बालबालिकाको शिक्षामा आवश्यक ध्यान पुग्न नसकेको यादवको भनाइ छ।

समस्या समाधानका लागि विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने उनले बताएका छन्। शिक्षालाई गाउँपालिकाको प्रमुख प्राथमिकतामा राखेर नियमित अनुगमन तथा मूल्याङ्कन गर्नुपर्ने र विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी शिक्षक तथा विद्यालय प्रशासनलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्ने उनको सुझाव छ।

यादवले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शिक्षा नै समृद्ध समाज निर्माणको आधार हो। गाउँपालिकाको शैक्षिक विकासका लागि देखिएका समस्याहरूको पहिचान गरी प्रभावकारी समाधानतर्फ अघि बढ्नु आजको आवश्यकता हो।’

उनले शिक्षा सुधारको अभियानमा स्थानीय सरकार, शिक्षक, अभिभावक, विद्यार्थी तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार २३:३१
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !