गरिमा चौधरी ह*त्या प्रकरण : बयान भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

गरिमा चौधरी ह*त्या प्रकरण : बयान भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ८, सोमबार १५:३६
गरिमा चौधरी ह*त्या प्रकरण : बयान भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा : तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा पक्राउ परेका किशोरको बयान कक्षभित्रको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।

किशोरसँग बयान लिइरहेको समयमा खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो विषय बहसमा आएको छ। भिडियोमा किशोरले घटनाबारे विस्तृत विवरण बताइरहेको देखिन्छ। उक्त भिडियो सामाजिक सञ्जालमार्फत तीव्र रूपमा फैलिएको थियो।

ADVERTISEMENT

नाबालकसँग अनुसन्धानका क्रममा लिइएको बयानको भिडियो बाहिरिएपछि प्रहरीको अनुसन्धान प्रक्रिया, गोपनीयता तथा नाबालकको अधिकारको विषयमा समेत प्रश्न उठेको थियो। संवेदनशील प्रकृतिको घटनामा संलग्न नाबालकको बयान सार्वजनिक भएपछि प्रहरी संगठनभित्रबाटै भिडियो कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा बयान कक्षमा भिडियो खिच्ने व्यक्तिको पहिचान भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार भिडियो खिचेको आरोपमा एक प्रहरीलाई पक्राउ गरी हिरासतमा राखिएको छ। उनीमाथि फौजदारी कसुरअन्तर्गत कारबाही अघि बढाउने तयारी भइरहेको उनले बताए।

प्रहरीका अनुसार बयानको भिडियो खिच्ने क्रममा करिब पाँचजना प्रहरी त्यहाँ उपस्थित रहेको देखिएको छ। भिडियो कसले खिच्यो र कसरी बाहिरियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

भिडियो सार्वजनिक गर्ने कार्यमा अन्य प्रहरीको समेत संलग्नता रहेको वा उनीहरूको भूमिका के थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। अनुसन्धानबाट दोषी देखिएमा संलग्न सबैमाथि कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

गरिमा चौधरी हत्या प्रकरणमा यसअघि नै ठूलो संख्यामा व्यक्ति पक्राउ परिसकेका छन्। घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका किशोरको बयानसम्बन्धी भिडियो सार्वजनिक भएपछि भने अनुसन्धानको गोपनीयता र प्रहरीको कार्यशैलीलाई लिएर थप प्रश्न उठेको हो।

विशेषगरी नाबालकसँग सम्बन्धित संवेदनशील अनुसन्धानका क्रममा बयानको भिडियो बाहिरिनु गम्भीर विषय भएको भन्दै प्रहरीभित्रैबाट पनि यस घटनालाई गम्भीर रूपमा लिइएको छ। प्रहरीले भिडियो कसरी र कसको माध्यमबाट सामाजिक सञ्जालसम्म पुग्यो भन्ने विषयलाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले घटनासँग सम्बन्धित संवेदनशील सामग्री सार्वजनिक गर्दा पीडित तथा नाबालकको गोपनीयता र अधिकारमा असर पर्न सक्ने भएकाले अनुसन्धानका क्रममा प्राप्त सामग्रीको दुरुपयोग नगर्नसमेत आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार १५:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !