वन अतिक्रमणमा संलग्नविरुद्ध कडा कारबाही गरिने

वन अतिक्रमणमा संलग्नविरुद्ध कडा कारबाही गरिने
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३, बुधबार १०:२८
वन अतिक्रमणमा संलग्नविरुद्ध कडा कारबाही गरिने

महोत्तरी : वनक्षेत्र फँडानी गरी अतिक्रमण गर्ने तथा रुखमा विषादी प्रयोग गरी नष्ट गर्नेविरुद्ध डिभिजन वन कार्यालय, महोत्तरीले कडा कारबाही प्रक्रिया अघि बढाएको छ।

सागरनाथ वन विकास परियोजनाअन्तर्गतको दुई नम्बर प्लटमा ठूलो संख्यामा रुख काटिएको तथा केही रुखको फेदमा विषादी प्रयोग गरी नष्ट गरिएको भेटिएपछि वन कार्यालयले अनुसन्धान थालेको हो।

ADVERTISEMENT

डिभिजन वन कार्यालय महोत्तरीका वरिष्ठ वन अधिकृत अजय मिश्रका अनुसार अनुसन्धानका क्रममा १९५ वटा टिक जातका रुख काटिएको र केही रुखको जरामा विषादी प्रयोग गरिएको तथ्य फेला परेको छ। घटनामा संलग्न वन माफियाको पहिचान गरी कानुनी कारबाही गर्न अनुसन्धानलाई तीव्र पारिएको उनले बताए।

रेन्जपोस्टका प्रमुख प्रेम उपाध्यायले वन फँडानीमा परिचालन भएका व्यक्तिहरूको पहिचान नजिक पुगेको जानकारी दिए। उनका अनुसार घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ।

‘हामीले घटनाको सूक्ष्म अनुसन्धान गरेका छौँ। वनका बिरुवा काट्ने र रुखको फेदमा विषादी हालेर जरासमेत नष्ट गर्नेहरूबारे जानकारी प्राप्त भएको छ,’ उपाध्यायले भने, ‘हामी प्रतिवेदन लेखन टुंग्याउँदैछौँ। प्रतिवेदन डिभिजन वन कार्यालयमा पुग्नासाथ संलग्न व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढ्छ।’

वन कार्यालयले वनक्षेत्र अतिक्रमण, अवैध रूपमा रुख कटान तथा वन सम्पत्ति नष्ट गर्ने गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान र उनीहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार १०:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !