काठमाडौंबाट रिहा भएकै दिन पत्रकार श्रेष्ठविरुद्ध ललितपुर प्रहरीमा उपसभामुखको जाहेरी

काठमाडौंबाट रिहा भएकै दिन पत्रकार श्रेष्ठविरुद्ध ललितपुर प्रहरीमा उपसभामुखको जाहेरी
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १, सोमबार २३:४६
काठमाडौंबाट रिहा भएकै दिन पत्रकार श्रेष्ठविरुद्ध ललितपुर प्रहरीमा उपसभामुखको जाहेरी

काठमाडौं : सर्वोच्च अदालतको आदेशमा रिहा भएकै दिन पत्रकार किशोर श्रेष्ठविरुद्ध अर्को जाहेरी दर्ता भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरमा उपसभामुख रुविकुमारी ठाकुरले श्रेष्ठविरुद्ध जाहेरी दिएको बताइन्।

ADVERTISEMENT

श्रेष्ठले जनआस्थाको फेसबुक पेज र अनलाइनमा आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय क्षति पुर्‍याउने नियतले अत्यन्तै भ्रामक, असत्य, अनर्गल र निन्दनीय समाचार सम्प्रेषण गरेको आरोप उपसभामुख ठाकुरले लगाएकी छन्।

प्रकाशित समाचारबाट आफ्नो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा गहिरो चोट पुर्‍याएको जाहेरीमा उल्लेख छ। समाचारमा जोडिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु रहेको दाबी उनको छ। उनैसँग अनैतिक सम्बन्धको आरोप लगाएर आफ्नो घोर बेइज्जत र चरित्र हत्या गर्ने प्रयास गरेको उल्लेख छ।

उनले जाहेरीसँगै प्रकाशित समाचार र फोटोका प्रति पनि पेस गरेकी छन्।

यसअघि अर्की युवतीसँग रास्वपा सांसदलाई जोडेर लेखेको समाचारको विषयमा श्रेष्ठ पक्राउ परेका थिए।

वैयक्तिक गोपनियता हननको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ।

श्रेष्ठको कार्यालय र घरबाट बरामद गरिएका सबै सामग्री पनि फिर्ता गरिएको छ। श्रेष्ठ रिहा भइसकेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दीलिप घिमिरेले बताए।

प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार २३:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !