मधेशमा ट्रान्सफर्मर चोरी बढ्दो, पाँच वर्षमा ९९ वटा चोरी

मधेशमा ट्रान्सफर्मर चोरी बढ्दो, पाँच वर्षमा ९९ वटा चोरी
राघव मण्डल राघव मण्डल २०८३ श्रावण २२, शुक्रबार १२:३४
मधेशमा ट्रान्सफर्मर चोरी बढ्दो, पाँच वर्षमा ९९ वटा चोरी

जनकपुरधाम: मधेश प्रदेशका विभिन्न जिल्लामा विद्युत् ट्रान्सफर्मर चोरीका घटना पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला पाँच वर्षमा प्रदेशभर ९९ वटा ट्रान्सफर्मर चोरी भएका छन्।

नेपाल विद्युत् प्राधिकरण, मधेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रशासन प्रमुख कालिचरण यादवका अनुसार ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार उच्च मूल्यमा बिक्री हुने भएकाले चोरीका घटना बढ्दै गएका हुन्।

ADVERTISEMENT

तथ्यांकअनुसार सबैभन्दा बढी महोत्तरीमा ३५ वटा ट्रान्सफर्मर चोरी भएका छन्। त्यसपछि बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा समान ९/९, सप्तरीमा ३ तथा पर्सामा २ वटा ट्रान्सफर्मर चोरी भएका छन्। चोरी भएका ट्रान्सफर्मरको क्षमता १५ केभीएदेखि २०० केभीएसम्म रहेको प्राधिकरणले जनाएको छ।

ट्रान्सफर्मर चोरीका कारण विशेषगरी कृषि क्षेत्रमा प्रत्यक्ष असर परेको छ। सिँचाइका लागि आवश्यक विद्युत् आपूर्ति अवरुद्ध हुँदा किसानले समयमा खेतमा पानी लगाउन नपाएको गुनासो गरेका छन्। प्रभावित कृषकहरूले दोषीलाई तत्काल पक्राउ गरी नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

यता, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले चोरी भएका ट्रान्सफर्मरको खोजी तथा दोषीको पहिचानका लागि प्रहरीको अनुसन्धान जारी रहेको बताए।

प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार १२:३४
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेस्क संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !