सरकार–हिन्दुवादी सङ्गठनबीच दोस्रो चरणको वार्ता सुरु, मधेश सरकार पनि सहभागी

सरकार–हिन्दुवादी सङ्गठनबीच दोस्रो चरणको वार्ता सुरु, मधेश सरकार पनि सहभागी
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १६, शनिबार २०:४५
सरकार–हिन्दुवादी सङ्गठनबीच दोस्रो चरणको वार्ता सुरु, मधेश सरकार पनि सहभागी

जनकपुरधाम : सरकार र हिन्दुवादी सङ्गठनबीच दोस्रो चरणको वार्ता सुरु भएको छ। पहिलो चरणको छलफल निष्कर्षमा पुग्न नसकेपछि करिब तीन घण्टाको विश्रामपछि शनिबार राति ८ बजेदेखि पुनः वार्ता अघि बढाइएको हो।

पहिलो चरणमा गृहमन्त्री सुधन गुरुङले हिन्दुवादी सङ्गठनका प्रतिनिधिसँग सीमित टोलीमा छलफल गरेका थिए। दोस्रो चरणमा भने मधेश प्रदेश सरकार औपचारिक रूपमा सहभागी भएपछि वार्ता थप विस्तारित बनेको छ।

ADVERTISEMENT

वार्तामा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, अर्थमन्त्री युवराज भट्टराई तथा गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो सहभागी छन्।

यस्तै, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी ॐ अधिकारी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, सहायक प्रमुख जिल्ला अधिकारी सुदेव झा, प्रहरी वरिष्ठ उपरीक्षक खिलेन्द्रराज अमगाई, प्रहरी उपरीक्षक रमेश खड्का, सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर विष्ट, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक तुलसीराम प्रसाई तथा हिन्दु सम्राट सेना नेपालका अध्यक्ष पंकजकुमार साहसहित अन्य प्रतिनिधिहरू पनि वार्तामा सहभागी छन्।

छलफलका क्रममा हिन्दुवादी सङ्गठनहरूले सरकारसमक्ष १५ बुँदे मागपत्र पेश गरेका छन्। मागपत्रमा सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचार तथा नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने लगायतका विषय समावेश छन्।

हाल सरकार र हिन्दुवादी सङ्गठनका प्रतिनिधिबीच ती मागहरूमाथि विस्तृत छलफल जारी रहेको छ। वार्ताको निष्कर्ष सार्वजनिक भइसकेको छैन।

प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार २०:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !