पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न सरकारसँग पूर्वमुख्यमन्त्री सिंहको माग

पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न सरकारसँग पूर्वमुख्यमन्त्री सिंहको माग
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १६, शनिबार १९:०६
पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न सरकारसँग पूर्वमुख्यमन्त्री सिंहको माग

जनकपुरधाम : मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा आन्दोलनरत पक्षसँग तत्काल संवाद सुरु गर्न सरकारसँग आग्रह गरेका छन्।

शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत सिंहले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

ADVERTISEMENT

विज्ञप्तिमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव सुनसरी घटनासम्बन्धी विभिन्न माग राख्दै तेस्रो दिनदेखि आमरण अनशनमा बसेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा नागरिकले शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने अधिकार संविधानले सुनिश्चित गरेको बताएका छन्। उनले अनशनरत यादवको स्वास्थ्यप्रति सरकार संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।

पूर्वमुख्यमन्त्री सिंहले कुनै पनि घटनाको समाधान आन्दोलनलाई बेवास्ता गरेर सम्भव नहुने उल्लेख गर्दै संवाद, निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रियामार्फत मात्रै दीर्घकालीन समाधान खोज्न सकिने बताएका छन्। उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन, पीडित परिवारलाई न्याय दिलाउन तथा आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।

उनले अनशनरत पक्षले उठाएका मागबारे सरकार गम्भीर संवादमा बस्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा उठाइने मागहरू संविधान, कानुन र राष्ट्रिय हितको परिप्रेक्ष्यमा सम्बोधन गर्नु सरकारको दायित्व भएको बताएका छन्।

सिंहले आमरण अनशन तेस्रो दिनमा प्रवेश गरिसकेको अवस्थामा सरकार मौन बसिरहनु उपयुक्त नहुने उल्लेख गरेका छन्। अनशनरत व्यक्तिको स्वास्थ्यमा कुनै अप्रिय अवस्था सिर्जना भए त्यसको गम्भीर जिम्मेवारी राज्यले पनि वहन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले सम्बन्धित निकायलाई तत्काल संवादको वातावरण निर्माण गरी समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका छन्।

विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा लोकतान्त्रिक मुलुक भएकाले हिंसा, सामाजिक द्वन्द्व वा साम्प्रदायिक तनावलाई बढावा दिनुभन्दा न्याय, कानुनको शासन र आपसी सद्भाव सुदृढ बनाउने दिशामा राज्य अघि बढ्नुपर्ने उल्लेख गरिएको छ। कुनै पनि नागरिकले न्यायको अनुभूति गर्न नसक्ने अवस्था लोकतन्त्रका लागि सकारात्मक संकेत नहुने उनको भनाइ छ।

पूर्वमुख्यमन्त्री सिंहले अन्त्यमा सरकारसँग सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, पीडित परिवारलाई न्याय सुनिश्चित गर्न तथा आन्दोलनरत पक्षसँग अविलम्ब संवाद गरी उत्पन्न गतिरोध अन्त्य गर्न आवश्यक पहल गर्न पुनः आग्रह गरेका छन्।

प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार १९:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !