दलित महिला अभियन्ताहरूको सञ्जाल बैठक सम्पन्न, हिंसाविरुद्ध अभियान थप सशक्त बनाइने

दलित महिला अभियन्ताहरूको सञ्जाल बैठक सम्पन्न, हिंसाविरुद्ध अभियान थप सशक्त बनाइने
राघव मण्डल राघव मण्डल २०८३ श्रावण १४, बिहीबार १९:३९
दलित महिला अभियन्ताहरूको सञ्जाल बैठक सम्पन्न, हिंसाविरुद्ध अभियान थप सशक्त बनाइने

जनकपुरधाम : धनुषामा दलित तथा सिमान्तकृत महिलामाथि हुने हिंसाविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला स्तरीय दलित महिला अभियन्ताहरूको सञ्जाल बैठक सम्पन्न भएको छ।

दलित महिला संघ धनुषाले बिहीबार जनकपुरधाम उपमहानगरपालिका–२, कदमचौकस्थित आफ्नै कार्यालयमा सञ्जालको नियमित बैठक आयोजना राखेको थिए।

ADVERTISEMENT

बैठकमा दलित तथा सिमान्तकृत महिलामाथि हुने जातीय विभेद, लैङ्गिक हिंसा, बालविवाह, बहुविवाह, दाइजो प्रथा, घरेलु हिंसा तथा बोक्सी आरोपजस्ता सामाजिक कुरीति न्यूनीकरण गर्दै पीडित महिलाको न्यायमा पहुँच सहज बनाउने उद्देश्य रहेको जनाइएको छ।

बैठकमा जिल्ला स्तरीय दलित महिला अभियन्ताहरू, सञ्जालका सदस्य तथा दलित महिला संघ धनुषाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा जिल्लामा महिलासँग सम्बन्धित समसामयिक मुद्दाको समीक्षा, हिंसाका घटनाको अवस्थाबारे छलफल, समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन, सम्बन्धित निकायसँग समन्वय बढाउने तथा आगामी कार्ययोजना तय गर्ने विषयमा विस्तृत छलफल भएको संघले जनाएको छ।

जिल्ला परियोजना संयोजक सिजेन्द्र सदाका अनुसार बैठकले महिला अधिकार संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन तथा विभेद र हिंसाविरुद्ध सशक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। आगामी दिनमा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै पीडित महिलालाई न्याय दिलाउन संस्थागत पहललाई निरन्तरता दिइने उनले बताए।

दलित महिला संघ धनुषाले विगत करिब डेढ दशकदेखि जिल्लामा दलित तथा सिमान्तकृत महिलालाई लक्षित गरी अधिकार संरक्षण, सशक्तीकरण तथा हिंसाविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले गठन गरेको जिल्ला स्तरीय दलित महिला अभियन्ताहरूको सञ्जालको बैठक प्रत्येक तीन महिनामा नियमित रूपमा बस्ने व्यवस्था गरिएको छ, जहाँ जिल्लाका समसामयिक महिला अधिकारका मुद्दामाथि समीक्षा र आगामी रणनीति तय गरिने गरिएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार १९:३९
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेस्क संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !