मनोज ठाकुरको अग्रसरतामा वन अतिक्रमण हटाइयो, रौतहटमा २ बिघा क्षेत्रमा टिक रोपियो

मनोज ठाकुरको अग्रसरतामा वन अतिक्रमण हटाइयो, रौतहटमा २ बिघा क्षेत्रमा टिक रोपियो
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८३ श्रावण ८, शुक्रबार १५:४०
मनोज ठाकुरको अग्रसरतामा वन अतिक्रमण हटाइयो, रौतहटमा २ बिघा क्षेत्रमा टिक रोपियो

जनकपुरधाम : रौतहटको गुजरा नगरपालिका–३ बलुवास्थित श्री अन्जुमन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा गरिएको अतिक्रमण हटाइएको छ। करिब एक महिनाअघि वन क्षेत्र खनजोत गरी धान रोपिएको स्थानमा अहिले टिक (सागवान) का बिरुवा रोपेर वन पुनर्स्थापनाको काम गरिएको हो।

डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत मनोज ठाकुरको पहलमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलसँग समन्वय गरी अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

ADVERTISEMENT

शुक्रबार वन कार्यालयका कर्मचारी र जङ्गलसहिया सशस्त्र प्रहरी बेसबाट खटिएको संयुक्त टोलीले करिब दुई बिघा वन क्षेत्रमा अतिक्रमण गरी रोपिएको धान नष्ट गरेको थियो। त्यसलगत्तै सोही क्षेत्रमा टिक जातका बिरुवा रोपिएको छ।

डिभिजनल वन अधिकृत मनोज ठाकुरले सार्वजनिक वन अतिक्रमण कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। वन संरक्षणलाई प्राथमिकतामा राखेर अतिक्रमण हटाउने, पुनः वृक्षरोपण गर्ने र दोषीमाथि कानुनी कारबाही अघि बढाउने नीति कार्यालयले लिएको उनले जानकारी दिए।

उनका अनुसार वन क्षेत्रको संरक्षणका लागि सुरक्षा निकाय र स्थानीय समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाइनेछ। वन अतिक्रमण तथा प्राकृतिक स्रोतको अवैध उपयोगविरुद्ध कडा निगरानी र नियमित अनुगमनलाई निरन्तरता दिइने कार्यालयको भनाइ छ।

प्रकाशित मिति: २०८३ श्रावण ८, शुक्रबार १५:४०
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !