मधेश सरकारको आवास कार्यक्रम : सिरहा–सप्तरीका १ हजार २०१ विपन्न परिवार पक्की घरमा

मधेश सरकारको आवास कार्यक्रम : सिरहा–सप्तरीका १ हजार २०१ विपन्न परिवार पक्की घरमा
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ६, बुधबार १३:५६
मधेश सरकारको आवास कार्यक्रम : सिरहा–सप्तरीका १ हजार २०१ विपन्न परिवार पक्की घरमा

जनकपुरधाम : वर्षौंदेखि फुसको छानोमुनि असुरक्षित जीवन बिताउँदै आएका सिरहा र सप्तरीका १ हजार २०१ विपन्न परिवारले मधेश प्रदेश सरकारको आवास कार्यक्रममार्फत पक्की घर पाएका छन्। पक्की घरमा बस्न थालेपछि उनीहरूको जीवन सुरक्षित, सम्मानजनक र आशावादी बनेको छ।

मधेश प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रम, महेन्द्रनारायण निधि विपन्न आवास कार्यक्रम तथा विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रम अन्तर्गत दलित, विपन्न र सीमान्तकृत समुदायका परिवारलाई स्थायी आवास उपलब्ध गराइएको हो।

ADVERTISEMENT

सिरहा नगरपालिका–९ की रशमादेवी रामले पक्की घर पाएपछि वर्षातमा चुहिने छानो, हुरीबतास र आगलागीको त्रासबाट मुक्त भएको बताइन्। “यो जुनीमा पक्की घरमा बस्न पाउँछु भन्ने कल्पनासमेत गरेकी थिइनँ। अहिले सुरक्षित घरमा बस्न पाउँदा निकै खुसी लागेको छ,” उनले भनिन्।

पूर्वाधार विकास कार्यालय सिरहाका सबइन्जिनियर जीवछकुमार यादवका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म सिरहामा ६१२ परिवार लाभान्वित भएका छन्। तीमध्ये जनता आवास कार्यक्रमबाट ५१२, महेन्द्रनारायण निधि विपन्न आवास कार्यक्रमबाट ६९ र विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रमबाट ३१ परिवारले पक्की घर प्राप्त गरेका छन्। औरही गाउँपालिकामा मात्रै जनता आवास कार्यक्रमअन्तर्गत ४४७ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको छ।

यस्तै सप्तरीमा ५८९ परिवारले नयाँ घर पाएका छन्। पूर्वाधार विकास कार्यालय सप्तरीका सबइन्जिनियर रामाकर झाका अनुसार जनता आवास कार्यक्रमबाट ५१५, महेन्द्रनारायण निधि विपन्न आवास कार्यक्रमबाट ५६ र विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रमबाट १८ परिवार लाभान्वित भएका छन्।

यद्यपि, कार्यक्रमका सबै काम अझै सम्पन्न भइसकेका छैनन्। सिरहामा जनता आवास कार्यक्रमअन्तर्गत करिब ४० र महेन्द्रनारायण निधि कार्यक्रमअन्तर्गत २७ घर निर्माणाधीन छन्।

सप्तरीमा जनता आवास कार्यक्रमअन्तर्गत ७९१ घर निर्माणको सम्झौता भए पनि हालसम्म ५१५ वटा मात्र सम्पन्न भएका छन्। २८८ घर निर्माणाधीन छन् भने ८८ घरको निर्माण कार्य अझै सुरु हुन सकेको छैन। महेन्द्रनारायण निधि कार्यक्रमअन्तर्गत सम्झौता भएका ९२ घरमध्ये ५६ सम्पन्न, ३४ निर्माणाधीन छन् भने बाँकी घरको काम सुरु हुन बाँकी रहेको कार्यालयले जनाएको छ।

पूर्वाधार कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाका अनुसार सुरक्षित आवासले बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पारेको छ। महिलालाई सुरक्षित वातावरणमा दैनिक काम गर्न सहज भएको तथा ज्येष्ठ नागरिक र अशक्त व्यक्तिको जीवनयापन पनि सहज बनेको उनले बताए।

उनका अनुसार आवास कार्यक्रमले गरिबी न्यूनीकरण, सामाजिक समावेशीकरण र मानव विकास सूचकमा सकारात्मक योगदान पुर्‍याएको छ। तर जग्गा व्यवस्थापनको समस्या, बजेट अभाव, प्रशासनिक प्रक्रिया तथा निर्माण सामग्रीको बढ्दो मूल्यका कारण कार्यक्रम अपेक्षित गतिमा अघि बढ्न नसकेको उनको भनाइ छ।

प्रकाशित मिति: २०८३ श्रावण ६, बुधबार १३:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !