सबैलामा ‘मधेश उद्योग ग्राम’ निर्माण सुरु, नेता बीपी साहद्वारा शिलान्यास

सबैलामा ‘मधेश उद्योग ग्राम’ निर्माण सुरु, नेता बीपी साहद्वारा शिलान्यास
मधेश पत्र मधेश पत्र २०८३ असार १३, शनिबार १८:२७
सबैलामा ‘मधेश उद्योग ग्राम’ निर्माण सुरु, नेता बीपी साहद्वारा शिलान्यास

सबैला (धनुषा) : धनुषा जिल्लाको सबैला नगरपालिकामा ‘मधेश उद्योग ग्राम’ निर्माणको कार्य औपचारिक रूपमा सुरु भएको छ। सबैला नगरपालिका वडा नम्बर १२ स्थित खैरबोना गाउँमा निर्माण भइरहेको उक्त उद्योग ग्रामको एक विशेष समारोहका बीच नेता बीपी साहले शिलान्यास पूजा गरेका छन् ।

ADVERTISEMENT

गत स्थानीय तह निर्वाचनमा सबैला नगरपालिकाको मेयर पदका प्रत्यासी एवं युवा नेता बीपी साहको विशेष पहलमा यो परियोजना अगाडि बढेको हो। नेता साहकै उपस्थितिमा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, भद्रभलाद्मी र सरोकारवालाहरूको सहभागितामा उद्योग ग्रामको शिलान्यास पूजा गरिएको हो।

मधेश प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको यस उद्योग ग्रामले स्थानीय स्तरमा आर्थिक क्रान्ति ल्याउने विश्वास नेता साहले व्यक्त गरेका छन् । उद्योग ग्रामको निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा साना तथा मझौला उद्योगहरू स्थापना गर्न सहज हुनेछ। विशेष गरी स्थानीय कच्चा पदार्थको प्रयोग गरी सञ्चालन गर्न सकिने उद्योगहरूलाई प्राथमिकता दिइने जनाइएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै नेता बीपी साहले उद्योग ग्राम निर्माण सम्पन्न भएपछि यसको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी स्थानीयहरूलाई नै सुम्पिने बताए। उनले भने, “हाम्रो मुख्य उद्देश्य भनेको स्थानीय स्तरमै रोजगारीको सिर्जना गर्नु र युवाहरूलाई उद्यमी बनाउनु हो। उद्योग ग्राम तयार भएपछि विभिन्न घरेलु उद्योगहरू सञ्चालनका लागि स्थानीयहरूलाई नै जिम्मेवारी दिइनेछ, जसले गर्दा सबैला नगरपालिकामा घरेलु उत्पादन र यसको बजारीकरणमा ठूलो सहयोग पुग्नेछ।”

नेता बीपी साह २०७९ सालको स्थानीय तह निर्वाचनमा सबैला नगरपालिकाको मेयर पदमा पराजित भएका थिए। उक्त निर्वाचनमा करिब ११ प्रतिशत मत प्राप्त गरेका साह चुनाव हारे पनि नगरको विकास र स्थानीयका समस्या समाधानमा भने निरन्तर सक्रिय रहँदै आएका छन्।
निर्वाचनको परिणाम जे जस्तो भए पनि जनताको सेवा र क्षेत्रको विकासका लागि पदमै बस्नुपर्छ भन्ने गतिलो उदाहरण साहले प्रस्तुत गरेका छन्।

प्रदेश सरकारसँग निरन्तर समन्वय र पहल गरेर उनले आफ्नो क्षेत्रमा यति ठूलो गौरवको आयोजना भित्र्याउन सफल भएका हुन्। मधेश प्रदेश सरकारले प्रादेशिक सन्तुलन र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने नीति अनुरूप यस उद्योग ग्राममा लगानी गरेको हो। उद्योग ग्रामभित्र सडक, विद्युत, पानी र सुरक्षा जस्ता न्यूनतम पूर्वाधारहरू सरकारले नै तयार गरिदिनेछ, जहाँ स्थानीय उद्यमीहरूले आफ्ना उद्योगहरू सहजै सञ्चालन गर्न सक्नेछन्।

खैरबोनामा बन्न लागेको यस मधेश उद्योग ग्रामले सबैला नगरपालिकालाई मात्र नभई आसपासका क्षेत्रलाई समेत आर्थिक रूपमा आत्मनिर्भर बनाउन र वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या कम गर्न मद्दत पुर्‍याउने स्थानीय बासिन्दाहरूको अपेक्षा छ।

प्रकाशित मिति: २०८३ असार १३, शनिबार १८:२७
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !