जेनजी आन्दोलनको बहानामा युवामाथि मुद्दा : राजनीतिक पूर्वाग्रहको आरोप

जेनजी आन्दोलनको बहानामा युवामाथि मुद्दा : राजनीतिक पूर्वाग्रहको आरोप
मधेशपत्र मधेशपत्र २०८२ चैत्र १२, बिहीबार ०९:०९
जेनजी आन्दोलनको बहानामा युवामाथि मुद्दा : राजनीतिक पूर्वाग्रहको आरोप

सिरहा : ‘जेनजी आन्दोलन’को नाममा राजनीतिक पूर्वाग्रह राख्दै युवामाथि मुद्दा दर्ता गरिएको भन्दै सिरहामा व्यापक आलोचना सुरु भएको छ। स्थानीय तहका जनप्रतिनिधिको जाहेरीका आधारमा केही युवामाथि ‘अपराधिक उपद्रव’ सम्बन्धी मुद्दा दर्ता भएपछि घटनाले थप विवाद तातेको हो।

नवराजपुर गाउँपालिकाका अध्यक्ष तथा वडा नं. ३ का वडाध्यक्ष बन्सिलाल यादवको जाहेरीका आधारमा प्रहरीले युवाहरूलाई पक्राउ गरेको बताइएको छ। यस क्रममा पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका–३ का राम सुरेश यादव रहेको जनाइएको छ। तर, आन्दोलनमा सहभागी युवाहरूलाई लक्षित गरी गरिएको कारबाहीलाई स्थानीयले अन्यायपूर्ण र पहुँचका आधारमा भएको भन्दै प्रश्न उठाएका छन्।

ADVERTISEMENT

स्थानीय स्रोतका अनुसार आन्दोलनका क्रममा ७६ जना निहत्था विद्यार्थीमाथि गोली प्रहार गरिएको आरोप लागेका व्यक्तिहरूलाई संरक्षण दिइएको तर अर्कोतर्फ निर्दोष युवाहरूलाई पक्राउ गरिएको भन्दै दोहोरो मापदण्ड अपनाइएको आरोप छ।

यसैबीच, छानबिनका लागि गठन गरिएको ‘कार्की आयोग’ले तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मा पाएको भए पनि छ महिनासम्म पनि प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन। बुझाइएको भनिएको प्रतिवेदनसमेत सार्वजनिक नगरिएकोप्रति असन्तुष्टि बढ्दो छ।

आलोचकहरूले राज्यका प्रमुख निकायहरू—सिंहदरबार, संसद भवन, शीतल निवास र सर्वोच्च अदालतमा आगजनी गर्ने तथा उक्साउनेहरू राजनीतिक संरक्षणमा रहेको आरोप लगाउँदै त्यस्ता व्यक्तिहरू नै पछि सांसद बन्ने तर राज्यका गतिविधिमाथि प्रश्न उठाउने युवामाथि मुद्दा चलाइनु गम्भीर विडम्बना भएको बताएका छन्।

स्थानीय तहमा बढ्दो भ्रष्टाचार, अपारदर्शिता र व्यथितिविरुद्ध आवाज उठाउँदै आएका युवाहरूलाई समाजका ‘पहरेदार’का रूपमा लिइँदै आएको छ। उनीहरूको आन्दोलनमा आगजनी वा तोडफोडमा संलग्नता पुष्टि हुने कुनै ठोस प्रमाण नभएको दाबी गर्दै राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दर्ता गरिएको भन्दै विरोध चर्किएको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह तथा नव निर्वाचित सांसदहरू यस विषयमा मौन बसेको भन्दै आलोचना भइरहेको छ।

सामाजिक सञ्जालमा आन्दोलनका हजारौँ सहभागीको भिडियो फुटेज सार्वजनिक भइरहेका बेला सीमित ६ जनामाथि मात्रै मुद्दा दर्ता गरिनु नियोजित देखिएको भन्दै निष्पक्ष छानबिनको माग गरिएको छ।

प्रकाशित मिति: २०८२ चैत्र १२, बिहीबार ०९:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !