रौतहट–४ मा जनमतका कल्याण राउतको घरदैलो अभियान तीव्र

रौतहट–४ मा जनमतका कल्याण राउतको घरदैलो अभियान तीव्र
अभिमनु पटेल अभिमनु पटेल २०८२ फाल्गुन १४, बिहीबार २०:२०
रौतहट–४ मा जनमतका कल्याण राउतको घरदैलो अभियान तीव्र

रौतहट : जनमत पार्टीका प्रतिनिधिसभा उम्मेदवार कल्याण राउतले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो अभियान तीव्र बनाएका छन्। निर्वाचन मिति नजिकिँदै जाँदा उनले क्षेत्रका विभिन्न वडामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

टोल–टोल र बस्ती–बस्ती पुगेर स्थानीयका गुनासा सुन्ने, सुझाव संकलन गर्ने र आफ्ना योजना प्रस्तुत गर्ने काममा राउत सक्रिय देखिएका छन्। पछिल्ला दिनहरूमा उनले धेरै वडामा दुई–तीन चरणसम्म घरदैलो गरिसकेको उनका समर्थकहरूले बताएका छन्।

ADVERTISEMENT

रौतहट–४ लामो समयदेखि पूर्वाधार अभाव, सीमित रोजगारी अवसर, शिक्षा र स्वास्थ्य सेवामा कमजोर पहुँच तथा कृषि क्षेत्रमा आधुनिक प्रविधिको कमी जस्ता समस्यासँग जुध्दै आएको क्षेत्र हो। यिनै मुद्दालाई केन्द्रमा राख्दै राउतले आफू निर्वाचित भए सडक, सिँचाइ र आधारभूत सेवाको विस्तारलाई प्राथमिकता दिने बताएका छन्।

उनका अनुसार स्थानीय उत्पादन प्रवर्द्धन, उद्यमशीलता विकास र युवालाई आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्ने वातावरण बनाउनु आफ्नो मुख्य लक्ष्य हो। युवाको सीप विकास, कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग प्रवर्द्धन, डिजिटल सेवा विस्तार र सुशासन उनका प्रमुख एजेन्डा छन्।

घरदैलोका क्रममा राउतले ‘जनता नै अन्तिम निर्णायक’ भन्ने सन्देश दिँदै मत मागिरहेका छन्। दुवै हात जोडेर घर–घर पुग्ने उनको शैलीलाई समर्थकहरूले ‘नजिकको राजनीति’को अभ्यासका रूपमा लिएका छन्।

यसपटक पार्टीले युवालाई नेतृत्वमा अघि सार्ने नीति लिएको सन्दर्भमा राउतलाई ‘जेन–जेड पुस्ताका प्रतिनिधि’का रूपमा प्रस्तुत गरिएको छ। शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारसँगै ग्रामीण सडक तथा सिँचाइ पूर्वाधार विस्तारलाई समेत उनले उच्च प्राथमिकतामा राखेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार रौतहट–४ मा यसपटक प्रतिस्पर्धा रोचक हुने देखिएको छ। परम्परागत प्रभावशाली दल र नयाँ शक्तिबीचको प्रतिस्पर्धालाई मतदाताले चासोपूर्वक हेरिरहेका छन्। जनमत पार्टीले भने टोलस्तरका समिति सुदृढ गर्दै युवा स्वयंसेवक परिचालन र घरदैलो अभियानलाई थप व्यवस्थित बनाएको जनाएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन १४, बिहीबार २०:२०
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !