सिरहा कारागारमा तनाव, बोलाइयो सुरक्षा समितिको बैठक

सिरहा कारागारमा तनाव, बोलाइयो सुरक्षा समितिको बैठक
मधेशपत्र मधेशपत्र २०८२ माघ २७, मंगलवार १०:५७
सिरहा कारागारमा तनाव, बोलाइयो सुरक्षा समितिको बैठक

सिरहा : सिरहा कारागारभित्र हतियार र नगदसहित ‘नाइके’ पक्राउ परेपछि उत्पन्न तनाव अझै शान्त हुन सकेको छैन । सोमबार बिहानदेखि सुरु भएको विवादले उग्र रूप लिँदा कारागार परिसर रातभर अशान्त बन्यो । स्थिति नियन्त्रण बाहिर जान थालेपछि आज बिहान जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बोलाइएको छ ।

सोमबार बिहान करिब ११ बजे कारागार प्रशासन र प्रहरीले गोप्य सूचनाका आधारमा चलाएको ‘विशेष अपरेसन’ का क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एउटा कटुवा पेस्तोल, दुई राउन्ड गोली र १ लाख २० हजार रुपैयाँ नगद फेला परेको थियो । हतियार बरामद भएलगत्तै प्रहरीले यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो ।

ADVERTISEMENT

आफ्ना नाइकेलाई प्रहरीले लगेपछि अन्य कैदीहरू आक्रोशित भएका छन् । उनीहरूले यादवलाई पुनः कारागारमै फर्काउनुपर्ने माग राख्दै सोमबार दिनभर र रातभर कारागारको छतमा चढेर नाराबाजी गरिरहेका छन् । सोमबार राति ९ बजेतिर स्थिति नियन्त्रणमा लिन प्रहरीले कारागारभित्र पानीको फोहरा (वाटर क्यानन) प्रयोग गरेको थियो । तर, कैदीहरूले पनि कारागारभित्रको मोटर चलाएर प्रहरीतर्फ नै पानी फ्याँकी प्रतिकार गरेका थिए । छतमा चढेका कैदी र बाहिर रहेका सुरक्षाकर्मीबीच केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेश बहादुर पालका अनुसार कैदीहरूको नाराबाजी मंगलबार बिहानसम्म पनि जारी छ । उनले भने, ‘अवस्था अहिले पनि सामान्य भइसकेको छैन, कैदीहरू छतमा बसेर होहल्ला गरिरहेका छन् । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न सुरक्षा समितिको बैठक बस्दैछ ।’

अहिले कारागारको आन्तरिक र बाह्य सुरक्षाका लागि १५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कारागारभित्र मदिरा र लागुऔषधको अवैध कारोबार, मोबाइल फोनको प्रयोग र चन्दा आतंक मच्चिरहेको सूचना आएपछि यो अपरेसन गरिएको हो । सर्चका क्रममा हतियारका साथै ठूलो परिमाणमा चुरोट, सुर्ती र अन्य प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको छ ।

हाल नियन्त्रणमा लिइएका १३ जना कैदीहरू हत्या, डाका, अपहरण र लागुऔषध जस्ता गम्भीर अपराधमा सजाय काटिरहेका व्यक्तिहरू हुन् । उनीहरूलाई उच्च सुरक्षा सतर्कताका साथ हिरासतमा राखिएको छ । १५० जनाको क्षमता रहेको यस कारागारमा हाल ४३६ जना कैदीबन्दी छन् ।

प्रकाशित मिति: २०८२ माघ २७, मंगलवार १०:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !