माधव नेपालको राजनीतिक बेवास्ताले रौतहट दशकौँ पछाडि पर्‍यो, अब परिवर्तन अपरिहार्य छ : उम्मेदवार गुप्ता

माधव नेपालको राजनीतिक बेवास्ताले रौतहट दशकौँ पछाडि पर्‍यो, अब परिवर्तन अपरिहार्य छ : उम्मेदवार गुप्ता
अभिमनु पटेल अभिमनु पटेल २०८२ माघ २६, सोमबार १८:३१
माधव नेपालको राजनीतिक बेवास्ताले रौतहट दशकौँ पछाडि पर्‍यो, अब परिवर्तन अपरिहार्य छ : उम्मेदवार गुप्ता

रौतहट : रौतहट क्षेत्र नम्बर १ अन्तर्गत यमुनामाई गाउँपालिका वडा नं. २ भेडियाही टोलमा आज बिहान प्रतिनिधिसभा सदस्य पदका नेकपा एमाले उम्मेदवार अजय कुमार गुप्ताले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम गरेका छन्।

सूर्य छाप लिएर चुनावी मैदानमा उत्रिएका गुप्ताले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै यसपटक आफूलाई सेवा गर्ने अवसर दिन आग्रह गरेका छन्।

ADVERTISEMENT

गुप्ताले पटक-पटक एउटै व्यक्तिलाई जिताएर पनि क्षेत्र र जनताको जीवनस्तरमा कुनै ठोस परिवर्तन नआएको भन्दै तीव्र कटाक्ष गरे। वर्षौँसम्म सत्ता र प्रभावको स्वाद चाखेका नेताहरूले रौतहटलाई केवल भोट बैंकको रूपमा प्रयोग गरे, तर दुःख पर्दा यहाँ कहिल्यै देखा परेनन् उनले भने।

उनले विशेषगरी पूर्वप्रधानमन्त्री माधव नेपालप्रति कडा आरोप लगाउँदै भने, माधव नेपालको दीर्घकालीन बेवास्ता, हावादारी विकासका नारा र खोक्रा आश्वासनकै कारण आज रौतहट समग्र विकासमा पछाडि परेको छ। दलित र मुस्लिम समुदायलाई सधैं चुनावी नारामा मात्र सम्झिने, व्यवहारमा भने उपेक्षा गर्ने प्रवृत्तिले यो क्षेत्र आजसम्म पनि आधारभूत सेवा र पूर्वाधारबाट वञ्चित रह्यो ।

गुप्ताले थपे जनतालाई भोट बैंक ठान्ने राजनीतिक संस्कृतिले रौतहटलाई सधैं पछि धकेल्दै आएको छ। संकटका बेला जनताको घरदैलोमा नआउने नेताहरूलाई अब जनताले नै विदा दिनुपर्छ। परिवर्तनको नाममा होइन, जनताको दुःख-सुखमा साथ दिने प्रतिनिधि रोज्ने बेला आएको छ।
आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै उनले भने, अब जनताले खोजेको विकास हामीले पूरा गर्ने अठोटका साथ यहाँ आएका हौँ। चुनावको बेला अनेकौं समाजसेवी र विभिन्न दलका उम्मेदवार नयाँ-नयाँ प्रतिबद्धता लिएर आउँछन्, तर म सधैं यस क्षेत्रबासीको दुःख-सुखको सारथी बनेर उभिएको छु। कसलाई मत दिने भन्ने फैसला अब तपाईं मतदाताकै हातमा छ।

स्थानीय मतदाताले पनि विगतका प्रतिनिधिबाट निराशा व्यक्त गर्दै यसपटक परिवर्तन आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: २०८२ माघ २६, सोमबार १८:३१
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !