अफताब आलमको राजनीतिक विरासत जोगाउन रौतहट- २ मा छोरा फिर्दोस पुनःचुनावी मैदानमा

अफताब आलमको राजनीतिक विरासत जोगाउन रौतहट- २ मा छोरा फिर्दोस पुनःचुनावी मैदानमा
अभिमनु पटेल अभिमनु पटेल २०८२ माघ २६, सोमबार १२:०४
अफताब आलमको राजनीतिक विरासत जोगाउन रौतहट- २ मा छोरा फिर्दोस पुनःचुनावी मैदानमा

रौतहट : रौतहट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेसका उम्मेदवार डा. मोहम्मद फिर्दोस आलम पुनः चुनावी मैदानमा उत्रिएका छन्।

विगतदेखि कांग्रेसको बलियो पकड मानिँदै आएको यस निर्वाचन क्षेत्रमा यसपटकको चुनाव केवल हार-जितको प्रतिस्पर्धा मात्र होइन, जनविश्वास, विकासको दृष्टिकोण र राजनीतिक नैतिकताको परीक्षा बनेको छ।

ADVERTISEMENT

स्व. शेख ईद्रीशपछि यस क्षेत्रको राजनीतिक नेतृत्व सम्हाल्दै आएका पूर्वमन्त्री स्व.मो. अफताब आलमको राजनीतिक विरासत अहिले उनका जेठा छोरा डा.फिर्दोस आलमको काँधमा आएको छ। तर यो चुनाव विरासत जोगाउने भन्दा पनि विरासतलाई रूपान्तरण गर्दै जनताको भरोसामा बदल्ने निर्णायक लडाइँका रूपमा हेरिएको छ।

२०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण कुमार साहसँग पराजित भएपनि फिर्दोस आलमले २८ हजार २४८ मत ल्याउँदै उल्लेख्य जनसमर्थन पाएका थिए। पराजयलाई हारको रूपमा होइन, आत्मसमीक्षा र राजनीतिक परिपक्वताको पाठका रूपमा ग्रहण गर्दै उनी यसपटक अझ सशक्त तयारीका साथ मैदानमा उत्रिएका छन्। कांग्रेसभित्र मात्र होइन, आम मतदातामाझ पनि फिर्दोसलाई वैकल्पिक आशाका रूपमा हेर्ने नजर विस्तारै बलियो बन्दै गएको स्थानीय राजनीतिक वृत्तको विश्लेषण छ।

यसपटक आलमको अभियान केवल भाषण र नारामा सीमित छैन। घरदैलो, चौतारी संवाद, युवासँग प्रत्यक्ष बहस, महिलासँग जीवनस्तरका सवालमा खुला छलफल गर्दै उनी जनताको पीडा सुन्ने र समाधानको रोडम्याप प्रस्तुत गर्ने उम्मेदवारका रूपमा उभिएका छन्। शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, ग्रामीण सडक, रोजगारी सिर्जना र सीमावर्ती क्षेत्रको समग्र विकास उनका प्रमुख एजेन्डा हुन्।

राजनीतिमा आउनुअघि नेपाल प्रहरीको स्वास्थ्य सेवामा चिकित्सकका रूपमा सेवा दिएका डा. फिर्दोस जनताको दुःख-पीडालाई नजिकबाट बुझेका पात्र मानिन्छन्। नेता बन्ने सपना भन्दा पनि सेवा गर्ने भावना लिएर राजनीतिमा प्रवेश गरेका व्यक्तिका रूपमा उनीप्रति युवापुस्ताको आकर्षण बढ्दो छ।

रौतहट क्षेत्र नं २ अहिले पनि विकासका हिसाबले जिल्लाकै पछाडि परेको क्षेत्र मानिन्छ। यहाँ सडक, सिँचाइ, गुणस्तरीय विद्यालय, अस्पताल र रोजगारी आज पनि जनताको सपना बनेका छन्।

आलम भन्छन् रौतहट क्षेत्र नं २ लाई केवल भोट बैंक होइन, विकासको मोडेल बनाउने समय आएको छ। कांग्रेसको सरकार बने र म निर्वाचित भए भने योजनाको होइन, कामको राजनीति देखिन्छ। स्थानीय स्तरमा आकस्मिक रूपमा उदाएका उम्मेदवार’ ‘राजनीतिक निरन्तरताविहीन पात्र’ ले रौतहट क्षेत्र नं २ लाई प्रयोगशाला बनाउने प्रयास गरिरहेको कांग्रेस नेताहरूको आरोप छ। जनताको पाँच वर्ष बर्बाद पार्ने गरी केवल चुनावको बेलामा देखा पर्ने प्रवृत्तिप्रति स्थानीय मतदातामाझ बढ्दो असन्तोष देखिएको छ।

राजनीतिक वृत्तमा चर्चा छ, काम गर्ने उम्मेदवार र केवल भाषण गर्ने उम्मेदवार बीचको फरक यसपटक जनताले प्रस्ट देखिरहेका छन्।

रौतहट- २ अन्तर्गत ईशनाथ, राजपुर, परोहा, बौधीमाई नगरपालिकाका सम्पूर्ण वडा तथा देवाही गोनाही र मौलापुर नगरपालिकाका केही वडा पर्दछन्। फागुन २१ गते हुने निर्वाचनले रौतहट मात्र होइन, मधेशको बदलिँदो राजनीतिक धारलाई समेत संकेत गर्नेछ।

यस निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका डा. मोहम्मद फिर्दोस आलम र अन्य दलका उम्मेदवारबीच हुने देखिएको छ। तर स्थानीय विश्लेषकहरू भन्छन, यो चुनाव व्यक्ति र व्यक्तिको मात्र होइन, विकासको दृष्टिकोण र राजनीतिक परिपक्वताको प्रतिस्पर्धा हो।

विगतका विवाद, आरोप-प्रत्यारोप र राजनीतिक कलहको छायाँबाट रौतहट क्षेत्र नं २ आज पनि मुक्त भइसकेको छैन। तर त्यसै कारण आलमको उम्मेदवारीलाई विवादबाट बाहिर निस्केर विकासको एजेन्डा अघि बढाउने अवसरका रूपमा हेरिँदैछ।

प्रकाशित मिति: २०८२ माघ २६, सोमबार १२:०४
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !