विकासको नारा बेचेर जनतालाई अन्धकारमा राख्ने नेतृत्वलाई चुनौती दिँदै पुनम यादव मैदानमा

विकासको नारा बेचेर जनतालाई अन्धकारमा राख्ने नेतृत्वलाई चुनौती दिँदै पुनम यादव मैदानमा
अभिमनु पटेल अभिमनु पटेल २०८२ माघ २६, सोमबार ०९:३५
विकासको नारा बेचेर जनतालाई अन्धकारमा राख्ने नेतृत्वलाई चुनौती दिँदै पुनम यादव मैदानमा

रौतहट : रौतहट क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार पुनम यादवले घरदैलो तथा प्रत्यक्ष जनसम्पर्क अभियान सुरु गरेकी छन्।

आउँदो फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ। रौतहट क्षेत्र नं. ३ मा पनि राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।

ADVERTISEMENT

रौतहट जिल्ला प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्रमा विभाजित छ। तीमध्ये क्षेत्र नं. ३ बाट नेपाली कम्युनिस्ट पार्टी (तारा छाप) को चुनाव चिह्न लिएर पुनम यादव चुनावी मैदानमा उत्रिएकी हुन्। उनी जिल्लाको राजनीतिक इतिहासमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिने पहिलो महिला उम्मेदवार हुन्।

उनको उम्मेदवारीलाई स्थानीयवासीले परिवर्तनको संकेतका रूपमा लिएका छन्। आइतबारदेखि यादवले कटहरिया नगरपालिकाको भसेढवा लगायत विभिन्न टोलबस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या, पीडा र गुनासो सुन्दै आएकी छन्।

घरदैलो अभियानका क्रममा स्थानीय मतदाताले विगतका निर्वाचनमा उम्मेदवारहरूले विभिन्न प्रलोभन देखाएर मत मागे पनि चुनाव जितेपछि विकासको नाममा जनतालाई उपेक्षा गरेको गुनासो गरेका छन्। स्थानीयका अनुसार क्षेत्र नं. ३ मा विकास केही निश्चित गाउँ र स्थानमा मात्र सीमित रहँदै आएको छ।

शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, खानेपानी तथा सामाजिक जनचेतनाको अवस्था कमजोर रहेको स्थानीयको भनाइ छ। विकासको नारा मात्र बेचेर जनतालाई अन्धकारमा राख्ने नेतृत्वका कारण क्षेत्र लामो समयदेखि पछाडि परेको उनीहरूको आरोप छ।

स्थानीयवासीले विकासका नाममा भएका अनियमितता, विभेद र राजनीतिक एकाधिकारबारे खुलेर आवाज नउठाइँदा क्षेत्र नं. ३ एक व्यक्तिको राजनीतिक ‘बन्धक’ जस्तै बनेको टिप्पणी गरेका छन्।

पुनम यादवको उम्मेदवारीसँगै क्षेत्रका मतदातामा अब वास्तविक नेतृत्व र समावेशी विकासको आशा पलाएको स्थानीयले बताएका छन्। उनीहरूको अपेक्षा छ—यो निर्वाचन केवल अनुहार परिवर्तनका लागि होइन, विकासको नाममा हुने भ्रम र धोखालाई परास्त गर्ने अवसर बन्नुपर्छ।

प्रकाशित मिति: २०८२ माघ २६, सोमबार ०९:३५
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !