सप्तरी–२ बाट पूर्व मुख्यमन्त्री सिंह स्वाभिमान पार्टीको उम्मेदवार

सप्तरी–२ बाट पूर्व मुख्यमन्त्री सिंह स्वाभिमान पार्टीको उम्मेदवार
मधेशपत्र मधेशपत्र २०८२ माघ ४, आईतवार १२:५२
सप्तरी–२ बाट पूर्व मुख्यमन्त्री सिंह स्वाभिमान पार्टीको उम्मेदवार

बिनय कर्ण, राजविराज : मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले प्रतिनिधिसभा निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले स्वाभिमान पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने जानकारी दिएका हुन्।

राजनीतिमा लामो समयदेखि सक्रिय सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। अध्यक्षका रूपमा रहँदा उनले स्थानीय विकास र सुशासनका क्षेत्रमा काम गरेको बताउँदै आएका छन्।

ADVERTISEMENT

तर २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी पुनः अध्यक्ष पदमा पराजित भए। स्थानीय तहको निर्वाचनमा पराजयपछि उनी प्रदेशसभा निर्वाचनमा जनमत पार्टीबाट सप्तरी क्षेत्र नम्बर २ (क) बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा विजयी भएसँगै उनले मधेश प्रदेश सरकारको नेतृत्व गर्दै मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

मुख्यमन्त्रीका रूपमा रहँदा मधेशको विकास, समावेशिता, सुशासन र अधिकारका सवाललाई प्राथमिकतामा राखेर काम गरेको दाबी सिंहले गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै सिंहले सप्तरी र मधेशको समग्र विकास, नागरिकका हकअधिकार तथा पहिचानका विषयलाई राष्ट्रिय स्तरमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार मधेशका मुद्दा संसद्मा बलियो रूपमा प्रस्तुत गर्न आफू उम्मेदवारी मैदानमा उत्रिएको हो।

सिंहको उम्मेदवारी घोषणासँगै सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को राजनीतिक गतिविधि थप सक्रिय बन्दै गएको छ।

प्रकाशित मिति: २०८२ माघ ४, आईतवार १२:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !