सबैलाका एक सय युवायुवती स्वरोजगार, परियोजना प्रतिवेदन पेश

सबैलाका एक सय युवायुवती स्वरोजगार, परियोजना प्रतिवेदन पेश
मधेशपत्र मधेशपत्र २०८२ मंसिर १, सोमबार १८:५७
सबैलाका एक सय युवायुवती स्वरोजगार, परियोजना प्रतिवेदन पेश

जनकपुरधाम : जानकी महिला जागरण समाज (JWAS) ले धनुषाको सबैला नगरपालिकामा १०० जना युवायुवतीलाई स्वरोजगार बनाएको प्रतिवेदन सार्वजनिक गरेको छ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालित दक्ष युवा परियोजना अन्तर्गत ३९ जना पुरुष र ६१ जना महिलालाई सीप विकासमार्फत स्वरोजगार बनाउन सफल भएको जनाइएको छ। परियोजनाका लागि सबैला नगरपालिकाका विभिन्न वडाबाट सहभागी छनोट गरिएको थियो। नियमित तालिम, गोष्ठी, अनुगमन र कार्यसम्पादन प्रक्रियाबाट १०० जनालाई सफलतापूर्वक स्वरोजगार बनाइएको हो।

ADVERTISEMENT

परियोजना सफलतापूर्वक सम्पन्न भएपछि जानकी महिला जागरण समाजले आइतबार सबैला नगरपालिकाका मेयर कारीराम यादव, उपमेयर रहिमा खातुन र प्रशासकीय अधिकृत बिरेन्द्रलाल कर्णलाई अन्तिम प्रतिवेदन बुझाएको थियो। कार्यक्रममा विभिन्न शाखाका प्रमुखहरू, उद्योग वाणिज्य संघ सबैलाका अध्यक्ष ब्रह्मदेव यादव सहितको उपस्थिति थियो। संस्थातर्फबाट सामाजिक परिचालन अधिकृत अर्जुन कु. सिंह र अनुगमन तथा मूल्यांकन अधिकृत सुस्मिता ठाकुर उपस्थित रहेका थिए।

युवाहरू, विशेषगरी युवतीहरूलाई मर्यादित रोजगारी तथा स्वरोजगारका अवसर सृजना गर्न लक्ष्य राखी परियोजना सञ्चालन गरिएको थियो। यसले लैङ्गिक उत्तरदायी र सुरक्षित कार्यस्थल तथा तालिम केन्द्रमा पहुँच वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको समाजले जनाएको छ।

परियोजनाका लागि १८ देखि २४ वर्ष उमेर समूहका सहभागीलाई छनोट गरिएको थियो। लघु उद्यम तालिम, व्यावसायिक तथा सीप तालिम, स्वरोजगार तालिम, स्टार्टअप सहयोग, वित्तीय साक्षरता, जीवन उपयोगी सीप तथा बचतसम्बन्धी तालिम प्रदान गरियो।

महिलालाई ब्यूटिपार्लर, सिलाइ–कटाइ, लेखापाल तथा कम्प्युटर तालिम दिइएको थियो, जसबाट उनीहरू अहिले सबै स्वरोजगार बनेका छन्। पुरुषहरूलाई इलेक्ट्रीसियन, हेभी इक्युपमेन्ट अपरेटर, लाइट ड्राइभर, यार्न मेसिन मेकानिक लगायतका सीप तालिम प्रदान गरिएको थियो।

परियोजनाले सञ्चालन गरेका मुख्य गतिविधि, सीप विकास तथा व्यवसायिक सहयोगका विवरणसहितको प्रतिवेदन JWAS ले पेश गरेको हो। अब तालिम लिएर अझ रोजगारीमा प्रवेश गर्न बाँकी युवालाई रोजगारीमा लगाउन, साथै व्यवसाय सुरु गरिसकेकाहरूको मासिक आम्दानी अनुगमन तथा व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने कार्य बाँकी रहेको समाजले जनाएको छ।

प्रकाशित मिति: २०८२ मंसिर १, सोमबार १८:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !