धनुषा–१ मा चुनावी हलचल : यादव, कार्की र साहबीच प्रतिस्पर्धाको संकेत

धनुषा–१ मा चुनावी हलचल : यादव, कार्की र साहबीच प्रतिस्पर्धाको संकेत
मधेशपत्र मधेशपत्र २०८२ मंसिर १, सोमबार १२:४६
धनुषा–१ मा चुनावी हलचल : यादव, कार्की र साहबीच प्रतिस्पर्धाको संकेत

जनकपुरधाम : आगामी निर्वाचन नजिकिँदै जाँदा नेपाल सरकारले तयारी तीव्र बनाएको छ भने विभिन्न क्षेत्रका सम्भावित उम्मेदवारहरू पनि सक्रिय हुन थालेका छन्। धनुषा–१ मा प्रमुख राजनीतिक व्यक्तित्वहरूको चहलपहल बढेसँगै यहाँको चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिन थालेको छ।

यस क्षेत्रमा तीन पटक मन्त्री भइसकेका तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट विजयी भएका मातृका प्रसाद यादव पुनः उम्मेदवारी दिने तयारीमा रहेको चर्चा छ। २०७९ मा कांग्रेस–माओवादीसहितको पाँच दलीय गठबन्धनका उम्मेदवार बनेका उनले सो चुनावमा पराजय व्यहोरेका थिए। उनका केही निकटस्थका अनुसार उनी यसपटक सिरहाबाट चुनाव लड्ने तथा धनुषाबाट उनका छोराले उम्मेदवारी दिने विकल्प पनि विचाराधीन रहेको बताइन्छ।

ADVERTISEMENT

त्यसैगरी, २०७९ मा एमाले–जसपा गठबन्धनको तर्फबाट चुनाव जितेका निवर्तमान सांसद रहेका पूर्वमन्त्री दीपक कार्की पनि सक्रिय छन्। मधेशी दल—जसपा, जनमत र लोसपाबीच गठबन्धन बनेमा उनी गठबन्धनकै तर्फबाट टिकट सुरक्षित गर्ने प्रयासमा छन्। यदि सहमति बन्न नसके उनले आफ्नै पुरानो पार्टी नेपाली कांग्रेसमा फर्किएर भए पनि चुनाव लड्ने सोच बनाएको नजिकका नेताहरू बताउँछन्।

स्थानिय तहको २०७९ को निर्वाचनमा सबैला नगरपालिकाका मेयर पदका उम्मेदवार बनेर सम्मानजनक मतसहित पराजित भएका युवा नेता बीपी साह पनि यो क्षेत्रमा नयाँ विकल्पका रूपमा सक्रिय देखिन्छन्। स्वतन्त्र युवाहरू, जेन–जेड समूह र स्थानीय सहकर्मीहरूसँग निरन्तर छलफल गर्दै उनले क्षेत्रका ४५ वडामा संगठन विस्तारको काम तीव्र बनाएका छन्। उनका सहयोगीहरूका अनुसार साहले प्रतिनिधिसभाको आगामी निर्वाचनमा औपचारिक रुपमा सहभागी हुने तयारी पूरा गरिरहेका छन्।

धनुषा–१ मा विगतका चुनाव परिणाम हेर्दा अधिकांश नेताहरू एक पटकभन्दा धेरै विजयी भएको इतिहास छैन। एमालेका योगनारायण यादव, माओवादीकी रामकुमारी यादव, कांग्रेसका प्रेमकिशोर साह, माओवादी–एमाले गठबन्धनका मातृका प्रसाद यादव र एमाले–जसपा गठबन्धनका दीपक कार्की—सबै एक–एक पटक मात्र विजयी भएका छन्। यस कारण नयाँ अनुहारका रूपमा अगाडि बढिरहेका बीपी साहको सम्भावना बलियो रहेको केही विश्लेषकहरूले देखाएका छन्।

यस क्षेत्रमा प्रतिस्पर्धामा देखिने मातृका प्रसाद यादव र दीपक कार्की दुवै पूर्वमन्त्री भए पनि जनताले उनीहरूलाई यस क्षेत्रको विकासमा काम नगरेको गुनासो गर्दैछन्। यस्तै अवस्थामा, पढेलेखेका, युवा र सक्रिय व्यक्तित्वका रूपमा बीपी साहले आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्ने प्रयास तीव्र बनाएका छन्।

प्रकाशित मिति: २०८२ मंसिर १, सोमबार १२:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !