एनपीएलको ट्रफी जनकपुरधाम : जनकपुर बोल्ट्सका समर्थकबीच उल्लासपूर्ण प्रदर्शन

एनपीएलको ट्रफी जनकपुरधाम : जनकपुर बोल्ट्सका समर्थकबीच उल्लासपूर्ण प्रदर्शन
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक १, शनिबार १६:२८
एनपीएलको ट्रफी जनकपुरधाम : जनकपुर बोल्ट्सका समर्थकबीच उल्लासपूर्ण प्रदर्शन

जनकपुरधाम : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सुरु हुनुअघि प्रतियोगिताको ट्रफी परेड शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) द्वारा सुरु गरिएको सातै प्रदेशमा ट्रफी परेड अभियानअन्तर्गत शनिबार जनकपुरधाममा ट्रफी प्रदर्शन गरिएको हो।

ADVERTISEMENT

कार्यक्रमको सुरुवात ऐतिहासिक जानकी मन्दिरमा पूजा अर्चना गरेर गरिएको थियो। त्यसपछि ट्रफीलाई जनकपुरधामको प्रमुख सडक हुँदै नगरका विभिन्न क्षेत्रको परिक्रमा गराइयो। ट्रफी परेडको समापन बसपार्क नजिक रहेको सीताशरण होटेलमा एक संक्षिप्त समारोहका साथ गरिएको थियो।

परेडमा स्थानीय युवाहरू, क्रिकेटप्रेमी, खेलकर्मी, समाजसेवी तथा जनकपुर बोल्ट्सका समर्थकहरूको उल्लेखनीय उपस्थिति थियो। रंगीन झाँकी, ब्यानर र उत्साही क्रिकेटप्रेमीहरूको सहभागिताले जनकपुरधामका सडकहरू केही समयका लागि खेलमय बनेका थिए।

नेपाल क्रिकेट संघ (क्यान) धनुषाका पदाधिकारीहरूले जनकपुरधाममा आयोजित ट्रफी परेडलाई मधेश प्रदेशका क्रिकेटप्रेमीहरूको गौरव र भावना जोडिएको क्षणको रूपमा व्याख्या गरेका छन्।

क्यान धनुषाका आकाश पाण्डेयले भने, “जनकपुरधाम क्रिकेटको भावनाले भरिएको शहर हो। यहाँको ऊर्जा र उत्साहले एनपीएलको दोस्रो संस्करणलाई अझ रोचक बनाउनेछ।”

जनकपुर बोल्ट्सका सदस्य र प्रशंसकका लागि यो कार्यक्रम विशेष अर्थपूर्ण रह्यो। जनकपुर बोल्ट्स एनपीएलको पहिलो संस्करणको विजेता टोली हो। आयोजकहरूले जनकपुरधाममा गरिएको ट्रफी परेडलाई पहिलो संस्करणका विजेताप्रति सम्मानको रूपमा पनि लिएका छन्।

मधेश प्रदेशमा सम्पन्न ट्रफी परेडपछि क्यानले यो अभियानलाई अन्य प्रदेशहरूमा पनि निरन्तरता दिने तयारी गरेको छ। यसअन्तर्गत ट्रफी क्रमशः लुम्बिनी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लैजाने कार्यक्रम तय गरिएको छ।

एनपीएलको दोस्रो संस्करण चाँडै सुरु हुने तयारीमा छ। यस पटक लिगमा नयाँ व्यवस्थापन प्रणाली, अद्यावधिक खेल तालिका र दर्शकका लागि थप आकर्षणयुक्त कार्यक्रमहरू समावेश गरिने क्यानले जनाएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक १, शनिबार १६:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !