जेन–जी आन्दोलनले निर्वाचन आयोगलाई निष्पक्ष बनाउनै पर्छ : सीके राउत

जेन–जी आन्दोलनले निर्वाचन आयोगलाई निष्पक्ष बनाउनै पर्छ : सीके राउत
मधेशपत्र मधेशपत्र २०८२ आश्विन २८, मंगलवार १२:५२
जेन–जी आन्दोलनले निर्वाचन आयोगलाई निष्पक्ष बनाउनै पर्छ : सीके राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले निर्वाचन आयोगको निष्पक्षता प्रश्नमा उठाउदैँ जेन–जी आन्दोलनले अब आयोगलाई निष्पक्ष बनाउन पहल गर्नुपर्ने बताएका छन्।

उनका अनुसार आयोगले कुनै सामान्य निवेदनमा समेत ‘यो मिलेन, त्यो मिलेन’ भन्दै हप्तौँसम्म अल्झाउने, पार्टीको ठेगाना वा इमेल अपडेट गर्न महिनौँ लगाउने, र आवश्यक कागजात पुर्‍याउँदासमेत निर्णय नगर्ने प्रवृत्ति देखाएको छ।

ADVERTISEMENT

“निर्वाचन आयोगमा सानो निवेदन दियो भने पनि हप्तौँसम्म झन्झट पार्छ। सक्कल निर्णय ल्याउनुस्, यो ल्याउनुस्, त्यो ल्याउनुस् भन्दै महिनौँ अल्झाउँछन्,” राउतले लेखेका छन्।

उनका अनुसार जनमत पार्टीले २०७८ सालदेखि आयोगमा आवश्यक सबै प्रक्रिया पूरा गरी करिब दर्जनौँपटक निवेदन बुझाए पनि आयोगले अद्यावधिक नगरेको उल्लेख गरेका छन्। “हामीले लुम्बिनीको समानुपातिक सांसद मनोनयनका सबै कागजात बुझाइसकेका महिनौँ भइसक्दा पनि आयोगले निर्णय गरेको छैन,” उनले भने।

राउतले नयाँ दल दर्ताका बेला आयोग ढिलो गर्ने तर पार्टी फुटाउँदा भने एकैदिनमा सनाखत र निर्णय गर्ने दोहोरो मापदण्ड देखाएको आरोप लगाए।

“जनमत पार्टी फुटाउन जाँदा एकैदिनमै सनाखत, निर्णय र काम तमाम ! कसको आदेशमा यो सब भइरहेको हो ? निर्वाचन आयोगले जवाफ दिनैपर्छ,” उनले प्रश्न उठाएका छन्।

उनका अनुसार कुनै पार्टी फुटाउने ऐन नै नभएको र आयोगले प्रक्रिया नपुगेका व्यक्तिहरू—स्वेच्छिक राजीनामा दिएका, अर्को पार्टी खोलेर चलाइरहेका र कारबाही भइसकेका व्यक्तिहरूको सनाखत स्वीकार गरेर अवैधानिक निर्णय गरेको दाबी गरे।

राउतले लेखेका छन्, “यस्तो निर्वाचन आयोगले कदाचित निष्पक्ष निर्वाचन गराउन सक्दैन। जेन–जी आन्दोलनले अब आयोगलाई निष्पक्ष बनाउन पहल गर्नैपर्छ।”

उनले बारा–२ को उपनिर्वाचनको उदाहरण दिंदै आयोगका अधिकारीहरू फर्जी मतदानमा संलग्न भएको आरोपसमेत लगाए।

“हामीले बारा–२ को निर्वाचनमा देख्यौं—कसरी आयुक्तदेखि अधिकृतसम्म मिलेर फर्जी मतदान गरेर निर्देशित पात्रलाई जिताइएको थियो,” राउतको भनाइ छ।

राउतले अन्त्यमा जनमत पार्टीका सबै कार्यकर्ता र समर्थकहरूलाई आगामी दिनका लागि शुभकामना दिँदै भनेका छन्, “मित्रहरूलाई सफलताको हार्दिक शुभकामना। तपाईंहरूको मनोकामना पूरा होस्, हाम्रो सदा शुभेच्छा रहनेछ।”

प्रकाशित मिति: २०८२ आश्विन २८, मंगलवार १२:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !