माधव नारायण नपाका तीन कर्मचारी र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

माधव नारायण नपाका तीन कर्मचारी र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
मधेशपत्र मधेशपत्र २०८२ आश्विन २६, आईतवार २०:३२
माधव नारायण नपाका तीन कर्मचारी र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहट : माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलय कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभटाइजिङ एजेन्सी प्रा.लि.का सञ्चालक अजित कुमार कर्णसहित तीन जना व्यक्ति र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

भ्रष्टाचार निवारण आयोगका अनुसार मिति २०८२ असोज २६ गते विशेष अदालत, काठमाडौंमा उनीहरूविरुद्ध गैरकानूनी लाभ उठाई नगरपालिकालाई आर्थिक हानि पुर्‍याएको अभियोगमा आरोपपत्र दायर गरिएको हो।

ADVERTISEMENT

आयोगले जनाएको अनुसार, माधव नारायण नगरपालिका–०३, सखुअर्वा, रौतहटमा “Construction of School Building” (ठेक्का नं. MNM/Works/2077/78) सम्बन्धी कामको बोलपत्र प्रक्रिया सार्वजनिक खरिद ऐन विपरीत हेरफेर गरिएको पाइएको छ।

अनुसन्धानबाट खुलेको विवरणअनुसार, सो ठेक्का प्रक्रियामा बोलपत्र आह्वान सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा, सम्बन्धित अधिकारीहरूले आपसी मिलोमतोमा ती सूचना सीमित प्रतिमा मात्र प्रकाशित गरी अभिलेखमा राखेको देखिएको छ।

त्यस क्रममा रौतहट एडभटाइजिङ एजेन्सी प्रा.लि.मार्फत “सिटी पोस्ट राष्ट्रिय दैनिक” नामक पत्रिकामा झुट्टा विवरणसहितका सूचना तयार गरी नगरपालिकामा पेश गरिएको र त्यसकै आधारमा रू. २,५७,९७० (दुई लाख सन्ताउन्न हजार नौ सय सत्तरी रुपैयाँ) भुक्तानी गरिएको पाइएको आयोगले जनाएको छ।

अनुसन्धानपछि, सो कार्यबाट नगरपालिकालाई आर्थिक हानि र संलग्न व्यक्तिहरूले गैरकानूनी लाभ लिएको ठहर गर्दै उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको मागसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: २०८२ आश्विन २६, आईतवार २०:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !