सर्लाहीमा बाढीले खानेपानी पाइप बगाएपछि ५०० परिवार तर्सिए

सर्लाहीमा बाढीले खानेपानी पाइप बगाएपछि ५०० परिवार तर्सिए
मधेशपत्र मधेशपत्र २०८२ आश्विन २०, सोमबार २२:१४
सर्लाहीमा बाढीले खानेपानी पाइप बगाएपछि ५०० परिवार तर्सिए

सर्लाही : अविरल वर्षापछि आएको बाढीले सर्लाहीको लालबन्दीमा खानेपानीको पाइप बगाएपछि स्थानीय बासिन्दा पानीको हाहाकारमा परेका छन्। लालबन्दी नगरपालिका–१५ का कालिञ्जोर खोलाले पाइप बगाएपछि करिब ५०० परिवार धारा सुक्कै सुक्क भएको बताउँछन्।

खोलाको ड्याममाथि बनेको रिजर्भ ट्याङ्कीबाट खोलाकिनार हुँदै लालबन्दी–१५ चिसापानी र वडा नं. १६ परवानीपुरसम्म पानी पु-याउने पाइपलाइन बाढीले दुवैतर्फबाट क्षति पु-याएको वडाध्यक्ष गोरख बलले भने।

ADVERTISEMENT

पाइप बगाएपछि चिसापानी र परवानीपुरका बासिन्दा पुरानै अवस्थामा फर्किएका छन्। अहिले उनीहरू ठडेगैरी पँधेरासम्म झण्डै एक घण्टा पैदल हिँडेर पानी ल्याउन बाध्य छन्। स्थानीय ६७ वर्षीया सानो बाबु कार्की भन्छन्, “धारा जोडेको हप्ता दिन नहुँदै बाढीले पाइप बगायो। घरमा तन्नेरी कोही छैन, पानी ल्याउन निकै कठिन भयो।”

वडाध्यक्ष बलका अनुसार, बाढीले करिब १०० मिटर पाइप क्षति गरेको छ।

यसअघि पनि हरिवन खोलामा आएको बेमौसमी बाढीले बागमती नगरपालिका–१ मा रहेको बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको मुख्य पाइपलाइन बगाएको थियो। सो घटनामा करिब १५० मिटर पाइप बगेपछि नगरपालिका–२ र ३ का १,३५० घरधुरी खानेपानी सुविधाबाट वञ्चित भएका थिए। समितिका अध्यक्ष वसन्त भट्टराईका अनुसार अहिले मर्मतको काम तीव्र गतिमा भइरहेको छ।

 

प्रकाशित मिति: २०८२ आश्विन २०, सोमबार २२:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !