संविधान पालना र राष्ट्रिय एकताको लागि दशैँले प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव

संविधान पालना र राष्ट्रिय एकताको लागि दशैँले प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव
मधेशपत्र मधेशपत्र २०८२ आश्विन १३, सोमबार १२:०७
संविधान पालना र राष्ट्रिय एकताको लागि दशैँले प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको पालना, संरक्षण र कार्यान्वयनका लागि सबै पक्षले संयम, संवाद र सहकार्यको मार्ग अवलम्बन गर्नुपर्ने बताएका छन्।

विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानले सुनिश्चित गरेका अधिकार, नागरिक स्वतन्त्रता र समावेशी प्रतिनिधित्वप्रति जनताको अपेक्षा अझ प्रगाढ बनाउन यो पर्वले उत्प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

ADVERTISEMENT

‘विजया दशमीले हामीलाई असत्य, अन्याय र समाजमा बढ्दो विभाजनविरुद्ध एकजुट हुन प्रेरित गर्छ भन्ने विश्वास लिएको छु,’ सन्देशमा भनिएको छ, ‘यस पर्वले आत्मशुद्धि, सामाजिक उत्तरदायित्व र राष्ट्रिय एकताको भावना जागृत गराओस्। सत्य, सदाचार, सद्भाव, भाइचारा र सहिष्णुताको बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस्।’

उपराष्ट्रपति यादवले दसैँमा हुने पूजापाठ, सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य र गीत–सङ्गीतले सांस्कृतिक पहिचान संरक्षणसँगै स्थानीय अर्थतन्त्रलाई समेत सक्रिय बनाउने उल्लेख गरेका छन्।

‘नेपाल विविध सांस्कृतिक, धार्मिक, ऐतिहासिक, मौलिक र परम्परागत सम्पदाले समृद्ध मुलुक हो। यहाँका चाडपर्वहरूले राष्ट्रिय एकता, सामाजिक घनिष्ठता, आध्यात्मिक चेतना र सांस्कृतिक निरन्तरताका संवाहकको भूमिका निर्वाह गर्दै आएका छन्,’ उहाँले भन्नुभएको छ, ‘हाम्रा पर्वहरूले परम्परागत मूल्य–मान्यता, जीवनशैली र सामाजिक सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्रिय पहिचान र एकतालाई अझ सबल बनाउन सहयोग पुगोस्।’

उहाँले विजया दशमीले विगतका कटुतालाई विस्मृत गर्दै एक–अर्कामा शुभेच्छा साटासाट गर्ने अवसर प्रदान गर्ने र सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत गर्ने विश्वास पनि व्यक्त गरेका छन्।

 

प्रकाशित मिति: २०८२ आश्विन १३, सोमबार १२:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !