रौतहट–२ बाट शेख सगिर आलमको उम्मेदवारी घोषणा

रौतहट–२ बाट शेख सगिर आलमको उम्मेदवारी घोषणा
अभिमनु पटेल अभिमनु पटेल २०८२ आश्विन ११, शनिबार १९:३७
रौतहट–२ बाट शेख सगिर आलमको उम्मेदवारी घोषणा

रौतहट : रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट शेख सगिर आलमले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

परोहा नगरपालिका–३, तेजापाकड निवासी आलम लामो समयदेखि शैक्षिक, सामाजिक र सरकारी सेवामा सक्रिय रहँदै आएका छन्। काठमाडौंमा अध्ययन पूरा गरेका उनले वि.सं. २०६२ सालदेखि अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागका विभिन्न कार्यालयमा काम गर्दै अनुभव आर्जन गरेका छन्।

ADVERTISEMENT

सरकारी सेवासँगै शिक्षा क्षेत्रमा समेत सक्रिय आलमले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई नेपाली पाठ्यक्रमसँग समायोजन गरी विद्यालय सञ्चालन गर्दै आएका छन्। उनका अनुसार यसबाट हजारौं विद्यार्थी गुणस्तरीय शिक्षाबाट लाभान्वित भएका छन्।

उम्मेदवारी घोषणा गर्दै आलमले रौतहटमा शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीजस्ता आधारभूत क्षेत्रमा अझै पनि समस्या रहनु दुर्भाग्यपूर्ण रहेको बताए। उनले भने, “रौतहट जिल्लाको शिक्षा अवस्था नेपालकै पुच्छारमा छ। परोहा नगरपालिकामा त साक्षरता दर नै निकै न्यून छ। यसलाई सुधार गर्न, स्वास्थ्य सेवा सहज बनाउन, कृषकलाई समयमै मल–जल उपलब्ध गराउन र स्वच्छ खानेपानीको व्यवस्था गर्न म आफ्नो सम्पूर्ण प्रयास गर्नेछु।”

उनले युवापुस्ताको चाहना र मागलाई ध्यानमा राख्दै राजनीतिक यात्रामा अघि बढ्ने घोषणा समेत गरेका छन्। “आगामी निर्वाचनमा मेरो क्षेत्रमा रहेका जनताले अमूल्य मत प्रदान गरी मलाई निर्वाचित गराउनुहुनेछ भन्ने पूर्ण भरोसा छ,” उनले भने, “जनतासँग प्रत्यक्ष सहकार्य गर्दै मैले प्रतिज्ञा गरेका उद्देश्यहरू पूरा गर्नेछु।”

रौतहट–२ का युवा प्रतिनिधिका रूपमा शेख सगिर आलम अबको चुनावी प्रतिस्पर्धामा महत्वपूर्ण पात्रका रूपमा देखिएका छन्।

प्रकाशित मिति: २०८२ आश्विन ११, शनिबार १९:३७
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !