प्रधानमन्त्री कार्की संयुक्त राष्ट्र संघको महासभामा नजाने

प्रधानमन्त्री कार्की संयुक्त राष्ट्र संघको महासभामा नजाने
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ८, बुधबार १५:२०
प्रधानमन्त्री कार्की संयुक्त राष्ट्र संघको महासभामा नजाने

काठमाडौंः प्रधानमन्त्री सुशीला कार्की संयुक्त राष्ट्र संघको महासभामा भाग लिन नजाने भएकी छन् । कार्की नेतृत्वको अन्तरिम सरकारका अन्य मन्त्री पनि नजाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूले अहिलेसम्म प्रधानमन्त्री कार्की महासभामा भाग लिन संयुक्त राष्ट्रसंघ जानेबारेमा छलफल नभएको बताए । ती अधिकारीले भने, ‘अहिलेसम्म प्रधानमन्त्री वा अन्य मन्त्री कोही पनि महासभामा भाग लिन जाने भन्ने आएको छैन । र, परराष्ट्र मन्त्रालयले त्यसबारे कुनै तयारी पनि गरेको छैन ।’

ADVERTISEMENT

प्रधानमन्त्री कार्की र उनको प्रतिनिधिको रूपमा अन्य मन्त्री पनि महासभामा नजाने भएपछि संयुक्त राष्ट्र संघको स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापाले नेपालको नेतृत्व गर्नेछन् । थापाको नेतृत्वमा जाने टोलीले महासभामा नेपालका एजेन्डा र धारणाहरू राख्नेछ ।

कार्की महासभावमा जाने भए यतिबेला गइसक्नुपर्ने हुन्थ्यो । महासभा हरेक वर्षको सेप्टेम्बरको तेस्रो मंगलबारदेखि सुरु हुन्छ भने चौथो मंगलबारदेखि उच्चस्तरीय सम्बोधन सुरु हुन्छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओली भने महासभामा भाग लिन जाने तयारीमा थिए । महासभामा जानेहरूको सूची तयारसमेत भइसकेको थियो । मन्त्री, कर्मचारी र पत्रकारहरूको समेत सूची बनाएर प्रधानमन्त्री ओलीको सचिवालयले टुंग्याएको थियो । एमाले स्रोतका अनुसार जेन–जी आन्दोलनको अघिल्लो दिन मात्रै नामहरू टुंग्याएका थिए । तर, जेन–जी आन्दोलनले ओली नेतृत्वको सरकार नै ढल्यो । त्यसपछि बनेको कार्की नेतृत्वको सरकारले भने महासभामा भाग लिन जाने तयारीसमेत गर्न पाएको थिएन ।

एकातिर भाग लिन जाने तयारी गर्न नपाएको, अर्कोतिर अन्तरिम सरकारको प्रधानमन्त्रीसँग आन्तरिक काम नै बढ्ता भएका कारणले जाने अवस्था नभएको कार्कीनिकट स्रोतहरूले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २०८२ आश्विन ८, बुधबार १५:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !