१० वर्षपछि पनि संविधानप्रति असन्तोष, मधेसमा विरोधको स्वर थामिएन

१० वर्षपछि पनि संविधानप्रति असन्तोष, मधेसमा विरोधको स्वर थामिएन
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ३, शुक्रबार १८:३८
१० वर्षपछि पनि संविधानप्रति असन्तोष, मधेसमा विरोधको स्वर थामिएन

जनकपुरधाम : नेपालको संविधान जारी भएको आज १० वर्ष पूरा भएको छ। तर मधेसकेन्द्रित दलहरूले भने यस दिनलाई उत्सव नभई विरोधका रूपमा मनाउँदै आएका छन्।

२०७२ साल असोज ३ गते संविधानसभाबाट बहुमतका आधारमा पारित संविधानलाई मधेस, आदिवासी, मुस्लिम, थारु समुदायका अधिकारलाई बेवास्ता गरिएको भन्दै मधेसकेन्द्रित दलहरूले अझै पूर्ण रूपमा स्वीकार गर्न सकेका छैनन्। त्यसै दिनलाई सम्झेर शुक्रबार संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध दलहरूले जनकपुरधामको जनक चोकमा प्रदर्शन गर्दै असोज ३ लाई ‘कालो दिन’को रूपमा मनाए।

ADVERTISEMENT

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव परमेश्वर साहले संविधानलाई विभेदकारी भन्दै संशोधन आवश्यक रहेको बताए। उनले भने, “सबै नेपालीको साझा संविधान बनाउन विभेदकारी धारा परिमार्जन हुनैपर्छ। हालैको जेन–जेड आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका माग पनि संविधानमा समेटिन जरुरी छ।”

त्यस्तै, जसपा नेपालका नेता जितेन्द्र यादवले संविधान जारी भइरहँदा मधेसमा भएको दमनको पीडादायक क्षण स्मरण गर्दै भने, “त्यो संविधान हामीमाथि गोली चलाइरहेको बेला घोषणा गरिएको थियो। त्यसैले आजसम्म आत्मसाथ गर्न सकेका छैनौं।” उनका अनुसार, नयाँ पुस्ताको आन्दोलनले पनि संविधानको अपूर्णतालाई फेरि उजागर गरिदिएको छ।

मधेसका दलहरूले संविधान संशोधन, झुठा मुद्दा खारेज, राज्यद्वारा गरिँदै आएको प्रताडना अन्त्य र समान अधिकार सुनिश्चित गर्ने माग गर्दै हरेक वर्ष असोज ३ लाई ‘कालो दिन’ मनाउँदै आएका छन्। उनका भनाइमा, जबसम्म संविधान सबै समुदायको प्रतिनिधित्व गर्ने गरी परिमार्जन हुँदैन, संविधान दिवस उत्सव नभई विरोधकै दिन हुनेछ।

नेपालको संविधानलाई पहिलो पूर्ण लोकतान्त्रिक संविधान मानिएको भए पनि घोषणाको समयमा नै मधेस र आदिवासी समूहहरूले असन्तोष जनाएका थिए। संविधान जारी भएको दिनदेखि मधेसमा बन्द, आन्दोलन र विरोध चलेका थिए। १० वर्ष पूरा भएको आज पनि त्यही असन्तोष थामिन सकेको छैन।

प्रकाशित मिति: २०८२ आश्विन ३, शुक्रबार १८:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !