वीरगञ्ज महानगरमा आगजनी, करिब डेढ अर्बको क्षति

वीरगञ्ज महानगरमा आगजनी, करिब डेढ अर्बको क्षति
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३१, मंगलवार १९:३५
वीरगञ्ज महानगरमा आगजनी, करिब डेढ अर्बको क्षति

वीरगञ्ज : हालैको जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण वीरगञ्ज महानगरको मुख्य भवनसहित विभिन्न संरचना र सवारीसाधन जलेर नष्ट भएका छन् । प्रारम्भिक विवरणअनुसार करिब रु एक अर्ब १५ करोड बराबरको क्षति भएको छ भने सबै विवरण संकलन गरेपछि कुल क्षति रु एक अर्ब ५० करोडसम्म पुग्ने अनुमान गरिएको छ।

महानगरका अनुसार कार्यालय परिसरभित्रका तीन भवन पूर्णरूपमा ध्वस्त भएका छन् भने अन्य तीनमा आंशिक क्षति पुगेको छ। १७ वटा चारपाङ्ग्रे, नौ वटा दुईपाङ्ग्रे र दुई वटा रिक्सा समेत जलेर नष्ट भएका छन्। कार्यालयभित्रका फर्निचर, कम्प्युटर, कागजात लगायतका सामग्री खरानी भएका छन्।

ADVERTISEMENT

सोमबार बसेको नगर परिषद्को बैठकले सहादत प्राप्त नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेको छ। साथै, चालु आर्थिक वर्ष २०८२/८३ को बजेटलाई संशोधन गरी संरचना पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय गरेको छ। यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न विशेष अधिवेशन बोलाउने तयारी गरिएको छ।

बैठकले हालको तोडफोड तथा आगजनी वास्तविक जेनजी प्रदर्शनकारीद्वारा नभई बाह्य घुसपैठमार्फत गराइएको निष्कर्ष निकालेको छ। प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार आन्दोलनको नाममा आपराधिक गतिविधि भएको प्रमाण भेटिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि प्रहरीले सिसीटीभी फुटेज र प्रत्यक्षदर्शीका बयान संकलन गरिरहेको छ।

नगर परिषद्ले दोषी पहिचान गरी कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसँग पत्राचार गर्ने निर्णय गरेको छ। साथै, असामान्य परिस्थिति हुँदाहुँदै पनि वीरगञ्ज महानगरले जनसेवामा अविच्छिन्न निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ३१, मंगलवार १९:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !