रौतहटमा ६४ कैदी पक्राउ, बाँकीलाई आत्मसमर्पण गर्न आग्रह

रौतहटमा ६४ कैदी पक्राउ, बाँकीलाई आत्मसमर्पण गर्न आग्रह
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २८, शनिबार १२:५०
रौतहटमा ६४ कैदी पक्राउ, बाँकीलाई आत्मसमर्पण गर्न आग्रह

रौतहट : रौतहटको सदरमुकाम गौर कारागारबाट भागेका कैदीबन्दीमध्ये ६४ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अभियानमा ४७ जना पक्राउ परेका हुन् भने भारतको सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएका १७ जनालाई नेपाल पठाइसकेको प्रमुख जिल्ला अधिकारी (सीडीयो) विनोदकुमार खड्काले जानकारी दिएका छन् ।

ADVERTISEMENT

गौर कारागारमा २९१ जना कैदी सजाय भुक्तान गरिरहेका थिए । कारागार तोडफोडपछि २७ जना मात्र भित्रै रहेका अवस्थामा अहिले ९१ जना कैदी कारागारमा फर्किएका छन् । अझै करिब २०० जना फरार रहेको सीडीयो खड्काले बताए ।

फरार कैदीलाई शीघ्र आत्मसमर्पण गर्न आग्रह गर्दै उनले भने, “असहज परिस्थितिको मौका छोपी कारागारबाट भागेका कैदी जहाँ भए पनि तुरुन्त उपस्थित भई राज्यलाई सहयोग गर्नुपर्छ । नत्र मुद्दा अनुसार थप कानुनी कारबाहीको दायरामा पर्नेछन् ।”

सीडीयो खड्काले स्थानीय जनतालाई पनि सहयोग गर्न आह्वान गरेका छन् । उनका अनुसार गाउँ–टोल र छिमेकमा लुकेर बसेका फरार कैदीबारे यथेष्ट जानकारी तत्कालै सुरक्षाकर्मीलाई दिनु आवश्यक छ ।

हाल रौतहटको समग्र अवस्था सामान्य बन्दै गएको उनले बताए । सदरमुकामसहित चन्द्रपुर क्षेत्रमा शान्ति कायम गर्न सुरक्षाकर्मी सक्रिय रहेको उनको भनाइ छ ।

निषेधाज्ञा अझै जारी रहेको भन्दै सीडीयो खड्काले अत्यावश्यक कामबाहेक घरमै बस्न आग्रह गर्दै भने, “शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई सहयोग गर्नु नागरिकको साझा दायित्व हो ।”

प्रकाशित मिति: २०८२ भाद्र २८, शनिबार १२:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !