तीन जिल्लाका प्रमुख आक्रोशित, कमला पुल निर्माणमा ढिलाइप्रति सरकारलाई ध्यानाकर्षण

तीन जिल्लाका प्रमुख आक्रोशित, कमला पुल निर्माणमा ढिलाइप्रति सरकारलाई ध्यानाकर्षण
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १९, बिहीबार १७:३०
तीन जिल्लाका प्रमुख आक्रोशित, कमला पुल निर्माणमा ढिलाइप्रति सरकारलाई ध्यानाकर्षण

जनकपुरधाम : सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला नदीमाथि बन्ने पुल १५ वर्षदेखि अधुरो छ। पटक–पटक ठेक्का दिइए पनि काम सम्पन्न नभएपछि तीन जिल्लाका स्थानीय तह प्रमुखहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बुधबार कमला नगरपालिकाका प्रमुख विशेश्वर यादवको अध्यक्षतामा सिरहा, धनुषा र सप्तरीका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष सहभागी भएको अन्तरक्रियामा पुल निर्माणमा भइरहेको अलपत्र अवस्थामाथि गहिरो छलफल भयो।

ADVERTISEMENT

प्रतिनिधिहरूले हालको डिजाइनमा पुल निर्माण सम्भव नभएको निष्कर्ष निकाले। उनीहरूले अब नयाँ डिजाइन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र इस्टिमेट तयार गरी पुनःनिर्माण प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिए। बरियापट्टी गाउँपालिका अध्यक्ष सन्तोष महतोका अनुसार पुल पुनःनिर्माणका लागि संघीय र प्रदेश सरकारसँग समन्वय गर्दै अल्पकालीन र दीर्घकालीन समाधान खोज्ने सहमति भएको छ।

विसं २०६८ मा सुरु भएको पुल निर्माण बाढी, प्राविधिक कमजोरी र ठेकेदारको लापरवाहीका कारण पटक–पटक रोकियो। पहिलो पप्पु कन्स्ट्रक्सन र पछि लुम्बिनी बिल्डर्सले जिम्मा लिँदा पनि समयमा काम सम्पन्न गर्न सकेनन्। सहभागी प्रतिनिधिहरूले अब सक्षम र जिम्मेवार निर्माण कम्पनीमार्फत मात्र काम अघि बढाउनुपर्ने धारणा राखे।

पुल अधुरो हुँदा जनजीवनमा ठूलो असर परेको स्थानीयले गुनासो गर्दै आएका छन्। वर्षेनि बाढीका कारण आवतजावत ठप्प हुन्छ। व्यापारीलाई सामान आपूर्ति गर्न, विद्यार्थीलाई पढाइमा निरन्तरता दिन र बिरामीलाई उपचारका लागि अस्पताल पु-याउन कठिनाइ भएको छ।

जनकपुर उपमहानगर प्रमुख मनोजकुमार साह, बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, डाक्नेश्वरी नगर प्रमुख रामलखन मलाह, औरही गाउँपालिका अध्यक्ष शिवजी यादव, भवगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलगायत सहभागीले यसपटक पुल निर्माणमा कुनै पनि ढिलासुस्ती सह्य नहुने चेतावनी दिए।

बरियापट्टी गाउँपालिका अध्यक्ष सन्तोष महतोले जिल्लास्तरीय अन्तरक्रिया गर्दै दबाब सिर्जना गर्ने तयारी भएको बताए। उनका अनुसार, “पुल नहुँदा बर्सेनि जनजीवन अस्तव्यस्त हुन्छ। अब स्थानीय तह एकजुट भएर दबाब दिन्छन्।”

प्रकाशित मिति: २०८२ भाद्र १९, बिहीबार १७:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !