फोनमा धम्की दिने युवतीप्रति खानेपानी मन्त्री यादवको उदारता : हिरासतबाट मुक्त गर्न निर्देशन

फोनमा धम्की दिने युवतीप्रति खानेपानी मन्त्री यादवको उदारता : हिरासतबाट मुक्त गर्न निर्देशन
अभिमनु पटेल अभिमनु पटेल २०८२ भाद्र १९, बिहीबार १०:१५
फोनमा धम्की दिने युवतीप्रति खानेपानी मन्त्री यादवको उदारता : हिरासतबाट मुक्त गर्न निर्देशन

रौतहट : संघीय खानेपानी मन्त्री प्रदीप यादव र टिकटक कलाकार किरण साहबीचको फोनसम्बन्धी विवाद अन्ततः सकारात्मक निष्कर्षमा पुगेको छ।

केही दिनअघि आएको अज्ञात फोनमार्फत आफूलाई ज्यान मार्ने धम्की दिइएको घटनालाई मन्त्री यादवले सामान्यीकृत गर्दै समाजमा सुधार र सचेतना फैलाउने अवसरका रूपमा लिएका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै धम्की दिने युवती किरण साहलाई प्रहरी हिरासतबाट मुक्त गर्न निर्देशन दिएका हुन्।

ADVERTISEMENT

मन्त्री यादवले भने, “लोकतन्त्रमा प्रश्न गर्न, गुनासो पोख्न जनतालाई पूर्ण अधिकार छ तर अराजकता फैलाउने वा हिंसाको भाषा प्रयोग गर्ने छुट कसैलाई छैन।” उनले युवतीलाई भविष्यमा यस्तो अप्रिय सोच वा हिंसात्मक अभिव्यक्ति दोहोर्याउन नदिन चेतावनीसमेत दिएका छन्।

यादवले आफ्नो राजनीतिक जीवन सदैव जनताको पीरमर्का बुझ्न र समस्याको समाधानमा क्रियाशील रहनेतर्फ केन्द्रित रहेको स्पष्ट पारे। उनले भने, “वीरगञ्ज मेरो जन्मथलो मात्र होइन, राजनीतिक संघर्ष र जनताको विश्वासको आधारभूमि पनि हो। खानेपानी संकटदेखि स्वास्थ्य आपतकालसम्म म सधैं जनताको घरआँगनमा पुगेर समस्या बुझ्दै आएको छु। जनताका प्रश्नलाई सहर्ष स्वीकार्नु मेरो धर्म हो।”

गत हप्तामा आएको फोन कललाई उनले सुरुमा सामान्य नागरिकको पीडा पोख्ने प्रयास ठाने पनि त्यसमा धम्कीपूर्ण भाषा प्रयोग भएपछि प्रहरीलाई जानकारी गराएका थिए। अनुसन्धानका क्रममा सम्पादित अडियो सार्वजनिक भए पनि पछि वास्तविक अडियो बाहिरिएपछि घटनाको सत्यतथ्य प्रष्ट भएको उनले बताए।

“कानुनभन्दा माथि कोही हुँदैन। अनुसन्धान प्रक्रिया निष्पक्ष हुन्छ भन्नेमा मेरो पूर्ण विश्वास छ। तर समाजमा कसैलाई बाटो बिराउनबाट जोगाउनु पनि हाम्रो जिम्मेवारी हो। त्यसैले फोनकर्तालाई सच्चिन मौका दिनुपर्छ भन्ने सोचका साथ प्रहरीलाई नरम दृष्टिकोण अपनाउन आग्रह गरेको हुँ,” मन्त्री यादवले स्पष्ट पारे।

उनका अनुसार लोकतन्त्र गुनासो पोख्ने संस्कृतिसँग जोडिएको व्यवस्था हो। तर हिंसात्मक भावना व्यक्त गर्दा स्थिति विकृत हुने भएकाले जनतालाई सचेत र सकारात्मक बाटोतर्फ डोर्याउन राजनीतिक नेतृत्वको भूमिका आवश्यक हुन्छ।

यो घटनाले खानेपानी मन्त्री प्रदीप यादवको मानवीय पक्ष मात्र उजागर गरेको छैन, बरु लोकतान्त्रिक मूल्यप्रतिको उनको आस्था र जनताप्रतिको संवेदनशीलता पनि झल्काएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १९, बिहीबार १०:१५
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !