अर्थमन्त्री यादवको राजीनामा माग्दै सदन अवरुद्ध

अर्थमन्त्री यादवको राजीनामा माग्दै सदन अवरुद्ध
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १२, बिहीबार १५:३९
अर्थमन्त्री यादवको राजीनामा माग्दै सदन अवरुद्ध

जनकपुरधाम : मधेश प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठक नै प्रतिपक्षी दलहरूले अबरुद्ध गरेका छन्। आर्थिक वर्ष २०८२/८३ को बजेट त्रुटिपूर्ण रहेको र प्रतिपक्षीको बहिष्कारबीच असार २६ गते बहुमतले पारित गरिएको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

बैठकको सुरुवातमै प्रमुख प्रतिपक्षी जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले अर्थमन्त्री सुनिलकुमार यादवको राजीनामा नआएसम्म सदन चल्न नदिने घोषणा गरे।

ADVERTISEMENT

उनका अनुसार ४६१ पृष्ठको बजेट आएकोमा पछि पुनः २९४ पृष्ठ थपेर पास गरिएको छ, जुन संसदीय मर्यादाविपरीत भएको दाबी प्रतिपक्षीले गरेका छन्।

‘संसदलाई छलेर, प्रतिपक्षी बिना बजेट पारित भयो। यस्तो परम्परा कतै पनि छैन,’ यादवले भने, ‘यसका लागि अर्थमन्त्री जिम्मेवार छन्। उहाँको राजीनामा नआएसम्म हामी सदन अबरुद्ध गरिरहन्छौं।’

यसपछि सभामुख रामचन्द्र मण्डलले भोलि दिउँसो १ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरे।

सदन अबरुद्ध गर्ने दलहरूमा जसपा नेपालसँगै नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र राप्रपा थिए।

बैठक बस्नु अघि बिहान ९ बजे सभामुख मण्डलले आह्वान गरेको सर्वदलीय बैठकसमेत प्रतिपक्षी पाँच दलले बहिष्कार गरेका थिए।

छैठौं अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा शुभकामना मन्तव्य, महालेखापरीक्षकको छैटौं र सातौं वार्षिक प्रतिवेदन तथा विषयगत समितिका वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यक्रम थियो।

प्रकाशित मिति: २०८२ भाद्र १२, बिहीबार १५:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !