रौतहटका रुबी साह ह’ त्या प्रकरण : अनुसन्धान कहाँसम्म ?

रौतहटका रुबी साह ह’ त्या प्रकरण : अनुसन्धान कहाँसम्म ?
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ११, बुधबार १७:००
रौतहटका रुबी साह ह’ त्या प्रकरण : अनुसन्धान कहाँसम्म ?

चन्दन कुमार, रौतहट : रौतहटको गौर नगरपालिका–९ मुडवलवा प्रवेशद्वार नजिक गत भदौ ७ गते राति सुटकेस फेला परेपछि सुरु भएको अनुसन्धान अहिले पनि देशभर चर्चामा छ। सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिला २६ वर्षीया रुवी देवी साह भएको खुलेपछि घटनाले थप सनसनी फैलाएको हो।

सुटकेसमा शव

ADVERTISEMENT

शनिबार राति करिब ९:३० बजे गौर–गंगापिपरा सडकखण्डको किनारमा बेवारिसे अवस्थामा राखिएको सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आइतबार बिहानसम्म पनि सुटकेस कसैले नलिएपछि प्रहरीको उपस्थितिमा खोल्दा शव देखिएको थियो। शवको अवस्था हेर्दा हत्या गरेर सुटकेसभित्र राखी फालिएको पुष्टि भएको थियो।

भारतको मझफ्फरपुर घर भई हाल गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरेर बस्दै आएकी रुवी साह विवाहित थिइन्। उनी आफ्ना छोरालाई पढाउन नेपाल आएकी थिइन्। प्रारम्भिक अनुसन्धानमै उनको हत्या गौरमै भएको पाइएको छ। शव भेटिएको केही परमै मृतककै चप्पल फेला परेको थियो।

मुख्य आरोपी लक्ष्मण पासवान

प्राविधिक अनुसन्धान र निगरानीका आधारमा प्रहरीले घटनामा माधवनारायण निवासी लक्ष्मण पासवानको संलग्नता भएको ठानेको थियो। लक्ष्मण रुवी साहका प्रेमीका रूपमा परिचित थिए। सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत पनि पासवानको नाम सार्वजनिक भएको थियो। तर प्रहरीको आधिकारिक प्रतिक्रिया भने तत्काल आएको थिएन।

तर सोमबार बिहान घटनाले नयाँ मोड लियो। लक्ष्मण पासवानले सामाजिक सञ्जालमा भिडियो अपलोड गर्दै आफूले रुवी साहको हत्या गरेको स्वीकारे। भिडियोमा उनले हत्या गर्नुको कारण र आफूले भोगेको भनिएको बाध्यता सुनाए। साथै, मृतक साहकै आमा, भिनाजु, देवर र गाउँका अन्य केही व्यक्तिलाई पनि आरोपित गर्दै घटनामा उनीहरूको संलग्नता रहेको दाबी गरे।

भिडियो सार्वजनिक गरेलगत्तै पासवानले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या प्रयास गरे। प्रहरी उनलाई गम्भीर अवस्थामा नियन्त्रणमा लिएर उपचारका लागि काठमाडौँको कीर्तिपुर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

स्थानीयको आक्रोश

सडकछेउ सुटकेसमा शव भेटिएको खबर सार्वजनिक भएपछि गौर क्षेत्रमा तनाब चुलिएको छ। स्थानीयवासीले यस्तो क्रूर हत्या खुलेआम सडकमा शव फ्याँक्ने गरी हुनुले प्रहरीको कमजोरी देखाएको भन्दै आलोचना गरेका छन्।

मृतक साहकी परिवारजनले पनि घटनामा संलग्न सबैलाई उजागर गर्न र कसैलाई पनि उम्कन नदिन माग गरेका छन्। उनका आफन्तले “लक्ष्मण मात्र नभई अरू पनि संलग्न छन्, सबैलाई कानुनी कारबाहीमा ल्याइयोस्” भन्ने अडान लिएका छन्।

कानुनी प्रक्रिया

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि समेत अनुसन्धान सुरु गरेको छ। लक्ष्मण पासवानको बयानका आधारमा परिवारजन र अन्य व्यक्तिको भूमिका पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ।

रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको र घटनालाई विशेष अपराध मान्दै छिटो अनुसन्धान पूरा गर्ने तयारी प्रहरीले गरेको स्रोतले बताएको छ।

बढ्दो दबाब

गृहमन्त्री रमेश लेखकलाई समेत स्थानीयले घटनामा संलग्न जोसुकैलाई कठोर सजाय दिन माग गरेका छन्। रौतहटवासीले “यस्ता घटना फेरि दोहोरिन नदिने गरी उदाहरणीय कारबाही”को माग गर्दै आएका छन्।

अनुसन्धानको हालसम्मको गतिलाई मध्यनजर गर्दा आरोपीहरू चाँडै कानुनी दायरामा आउने प्रहरीको विश्वास छ। तर यस घटनाले फेरि देखाएको जघन्य शैलीले देशभर महिला हिंसा, अपराध नियन्त्रण र प्रहरीको प्रभावकारी भूमिकामाथि प्रश्न उठाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार १७:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !