शिक्षकदेखि सहयोगीसम्म नियमविपरीत सरुवा, कांग्रेस नेताको निशानामा नगरप्रमुख यादव

शिक्षकदेखि सहयोगीसम्म नियमविपरीत सरुवा, कांग्रेस नेताको निशानामा नगरप्रमुख यादव
बृषेशकुमार शर्मा बृषेशकुमार शर्मा २०८२ भाद्र ९, सोमबार १४:१२
शिक्षकदेखि सहयोगीसम्म नियमविपरीत सरुवा, कांग्रेस नेताको निशानामा नगरप्रमुख यादव

जनकपुरधाम : नेपाली कांग्रेसका नेता साधु गोइतले शहीदनगर नगरपालिकाका नगरप्रमुख दिनेश प्रसाद यादवमाथि पद र शक्तिको दुरुपयोग गर्दै ‘राणा–राजतन्त्र जस्तो शासन’ चलाएको आरोप लगाएका छन्।

उनका अनुसार नगरप्रमुख यादवले नियम कानुन विपरीत शिक्षक सरुवासँगै कार्यालय सहयोगीको समेत सरुवा गरेका छन्। ‘‘नेपालकै इतिहासमा पहिलो पटक कार्यालय सहयोगीको सरुवा गरिएको छ। यसको कानुनी आधार के हो भन्ने प्रश्नको जवाफ नगरप्रमुखले दिनुपर्छ,’’ गोइतले भने।

ADVERTISEMENT

नगरपालिकाको वडा नम्बर २ चोराकोयलपुरस्थित दलित राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत भोरिल महरालाई वडा नम्बर ८ बिसरभोरास्थित विद्यालयमा सरुवा गरिएको स्रोतले जनाएको छ।

कर असुली र बजेट दुरुपयोगको आरोप

नेता गोइतले संघीय लोकतान्त्रिक व्यवस्थामा समेत नगरप्रमुख यादवले किसानलाई खेति योग्य जग्गामा कर लगाउँदै जनताको मनोभावना विपरीत कर असुली गरेको गम्भीर आरोप लगाए। ‘‘पञ्चायती व्यवस्थामा समेत नभएको किसानमाथि कर लगाइएको छ,’’ उनले भने।

त्यसबाहेक नगरपालिकाले चापाकल र कृषि सिंचाइका लागि साना ट्युबवेल सूचना बिना नै मापदण्ड विपरीत वितरण गरेको दाबी पनि गोइतले गरे। उनका अनुसार किसानी पेशामा निर्भर किसानलाई सुविधा नदिइ नगरप्रमुखले आफ्ना नजिकका आसेपासे र कार्यकर्तामुखी ढंगले बजेटको चरम दुरुपयोग गरेका छन्।

नगरप्रमुख यादवको स्पष्टीकरण

आरोपप्रति नगरप्रमुख यादवले आफूले कुनै नियमविपरीत कार्य नगरेको दाबी गरेका छन्।

शिक्षक सरुवाबारे उनले भने, ‘‘शिक्षकको सरुवा समितिबाट निर्णय भइसकेको छ। दरबन्दी मिलान गर्ने काम बाँकी छ। कतिपय विद्यालयमा २५ जना विद्यार्थीमा १० जना शिक्षक छन् भने कतै ५ सयभन्दा बढी विद्यार्थीका लागि ३ जना शिक्षक मात्र छन्। विद्यार्थीअनुपातका आधारमा दरबन्दी मिलाउने प्रक्रिया अघि बढाइएको हो।’’

उनका अनुसार समितिबाट कार्यालय सहयोगी सरुवा गर्ने निर्णय भए पनि अहिलेसम्म कसैलाई सरुवा गरिएको छैन।

चापाकल र साना ट्युबवेल वितरणबारे उनले भने, ‘‘नगरपालिकाभरि ६२ वटा ट्युबवेल जडान गरिएको छ। ठूलो जमिन भएका किसानलाई सिंचाइ सुविधा पुगोस् भन्ने उद्देश्यले साना ट्युबवेल दिइएको हो। अहिलेसम्म १५–२० वटा मात्रै चापाकल वितरण भएका छन्। यसमा कुनै पक्षपात गरिएको छैन, नगरपालिकाभरिका जनतालाई समान रूपमा सम्मान गरिएको छ।’’

खेती योग्य जग्गामा कर बढाएको विषयमा भने उनले त्यो निर्णय उपप्रमुखले गरेको बताउँदै आफूले पुनर्विचार गर्न भनेको स्पष्ट पारे। ‘‘यो मेरो अधिकार क्षेत्रबाहिरको कुरा हो। उपप्रमुखज्यूले निर्णय गर्नुभएको हो। मैले रोक्न भनेको छु,’’ उनले भने।

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार १४:१२
बृषेशकुमार शर्मा

बृषेशकुमार शर्मा

लेखक


तपाईको प्रतिक्रिया !