वीरगन्जमा हैजा संक्रमण समुदायस्तरमै फैलियो, ३६ संक्रमित पुष्टि, दुईको मृत्यु शंका

वीरगन्जमा हैजा संक्रमण समुदायस्तरमै फैलियो, ३६ संक्रमित पुष्टि, दुईको मृत्यु शंका
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ८, आईतवार ०६:५१
वीरगन्जमा हैजा संक्रमण समुदायस्तरमै फैलियो, ३६ संक्रमित पुष्टि, दुईको मृत्यु शंका

वीरगन्ज : वीरगन्ज महानगरमा हैजा (कोलेरा) संक्रमण तीव्र गतिमा समुदायस्तरमा फैलिएको छ। शुक्रबार महानगरपालिका–१२ मुर्ली टोलका तीन जनामा हैजा पुष्टि भएपश्चात् शनिबार साँझसम्म संक्रमितको संख्या बढेर ३६ पुगेको छ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार महानगरपालिका–३, ११, १२, १३ र ३० वडामा हैजाको संक्रमण पुष्टि भइसकेको छ।

ADVERTISEMENT

सबैभन्दा बढी बिरामी नारायणी अस्पतालमा १३ जना, तराई अस्पतालमा १२ जना, नेशनल मेडिकल कलेजमा ५ जना, अलि अर्थो सेन्टरमा ४ जना र भवानी अस्पतालमा २ जना उपचाररत छन्। वीरगन्ज महानगरको स्वास्थ्य शाखा प्रमुख सुमनचन्द्र ठाकुरका अनुसार वीरगन्जका विभिन्न अस्पतालमा झाडापखाला र हैजाका शंकास्पद गरी हाल २०० भन्दा बढी बिरामी उपचाररत छन्।

नारायणी अस्पतालमा शय्या अभाव भएपछि बिरामीलाई बरन्डाको भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए। उनका अनुसार शनिबार साँझसम्म मात्रै नारायणी अस्पतालमा १३ जनामा हैजा पुष्टि भइसकेको छ भने ३० भन्दा बढी बिरामीको उपचार भइरहेको छ। बिरामी थपिने क्रम अझै जारी छ।

वीरगन्जमै हैजाको शंका गरिएका दुई बिरामीको मृत्यु भइसकेको पनि डा. सिंहले जानकारी दिए। उनका अनुसार शुक्रबार नारायणी अस्पतालमा ३५ वर्षीय पुरुष र वीरगन्ज हेल्थकेयर हस्पिटलमा १९ वर्षीया युवतीको मृत्यु भएको हो। ‘झाडापखालाबाट सिकिस्त बनेका दुवैलाई अस्पताल ल्याइएको थियो। तर ल्याउँदा नै मृत्यु भइसकेको थियो,’ उनले भने, ‘तर उनीहरूको मृत्यु हैजा वा झाडापखालाबाट भएको हो भन्ने औपचारिक पुष्टि भने भएको छैन।’

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार ०६:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !