रौतहटमा घरमै पसेर प्रहरी हवल्दारद्वारा युवकमाथि आक्रमण

रौतहटमा घरमै पसेर प्रहरी हवल्दारद्वारा युवकमाथि आक्रमण
अभिमनु पटेल अभिमनु पटेल २०८२ भाद्र ७, शनिबार ११:५४
रौतहटमा घरमै पसेर प्रहरी हवल्दारद्वारा युवकमाथि आक्रमण

रौतहट : रौतहटको बृन्दावन नगरपालिका–६ हर्साहा टोल मंगलबार बेलुकी तनावग्रस्त बन्यो। सामान्य विवादले सुरु भएको वादविवाद एक्कासी झडपमा परिणत भयो र स्थानीय २५ वर्षीय नितेश पटेल गम्भीर घाइते भए।

नितेशका बुबा जयकुमार पटेलका अनुसार, केही व्यक्तिहरू पुरानो रिसभि साध्ने नियतले घरमै पसेर गाली–गलौज गर्दै अशान्ति मच्चाउन खोजेका थिए। सो क्रममा बुझ्न पुगेका छोरा नितेशमाथि आक्रमण भएको हो।

ADVERTISEMENT

आक्रमणमा संलग्नमध्ये सर्लाहीको बरहथवा इलाका प्रहरी कार्यालयअन्तर्गत प्रहरी चौकी भगवानपुरमा कार्यरत प्रहरी हवल्दार प्रमोद राउत कुर्मीले समेत प्रहरीको धाक देखाउँदै हातपात गरेको आरोप लगाइएको छ।

घाइते नितेशले भने, “मैले सोधें, तपाईं सर्लाहीमा कार्यरत हुनुहुन्छ, यहाँको प्रहरी चौकीले मात्र छानबिन गर्न सक्छ। त्यति भन्नासाथ उनले बाँसले प्रहार गरेर मेरो टाउको फुटाइदिए।”

टाउकोमा गम्भीर चोट लागेका नितेशलाई तत्काल उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गरिएको छ। चिकित्सकहरूले उनको अवस्था गम्भीर रहेको जनाएका छन्।

स्थानीयवासीले घटनापछि पनि हवल्दार कुर्मीले प्रहरीको नाम दुरुपयोग गर्दै सोही दिन आफ्नो कार्यस्थल फर्किएको आरोप लगाएका छन्। प्रहरीकै जिम्मेवारी वहन गर्ने पदमा रहेर आचरण विपरीत कार्य गरेको भन्दै उनीहरू आक्रोशित बनेका छन्।

पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

यसैबीच, इलाका प्रहरी कार्यालय बरहथवाका एक अधिकारीले हवल्दार कुर्मी बिदामा रहेको जानकारी दिए। यता, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख नायब उपरीक्षक (प्र.ना.उ.) राजन कार्कीले भने, “घटनाबारे जानकारी आएको छैन, हामी बुझ्दैछौं। पीडितले न्याय पाउनुपर्छ।”

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार ११:५४
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !