५६ लाखको कालोपत्र ३६ दिनमै भत्कियो, गुणस्तरहीन कामबारे चौतर्फी विरोध

५६ लाखको कालोपत्र ३६ दिनमै भत्कियो, गुणस्तरहीन कामबारे चौतर्फी विरोध
अभिमनु पटेल अभिमनु पटेल २०८२ भाद्र ७, शनिबार ११:०६
५६ लाखको कालोपत्र ३६ दिनमै भत्कियो, गुणस्तरहीन कामबारे चौतर्फी विरोध

रौतहट : रौतहटको राजदेवी नगरपालिकामा निर्माण गरिएको ५६ लाख लागतको कालोपत्र सडक ३६ दिनमै भत्किन थालेको छ। गुणस्तरहीन काम ढाकछोप गर्न ठेकेदारले कालोपत्र माथि बालुवा छरेपछि स्थानीय आन्दोलित भएका छन्।

सघन शहरी तथा भवन निर्माण आयोजना पर्साबाट बजेट विनियोजन भई महतो कन्स्ट्रक्सन कम्पनीमार्फत सडक र नाला निर्माण गरिएको हो। तर असार अन्तिमतिर ‘असारे विकास’को नाममा हतार–हतार सम्पन्न गरिएको काम गुणस्तरीय हुन नसक्दा सडक भत्किएको स्थानीयको आरोप छ।

ADVERTISEMENT

सडकमा खुट्टाले हिँड्दा समेत गिट्टी उखेलिने अवस्था देखिएको भिडियो र फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आलोचना चर्किएको हो। सहायक प्राविधिक राकेश यादवले काम गुणस्तरीय नभएको स्वीकार गर्दै ठेकेदारको धरौटी रकम कट्टा गरी पुनः कालोपत्र गर्न लगाइने बताए।

ठेकेदार कम्पनीका प्रमुख बिरेन्द्र महतोले असारभित्र योजना सक्नुपर्ने दबाब, स्थानीयले अतिक्रमण गरेका संरचना नहटाउनु र विद्युत् पोल सार्न ढिलाइ भएको कारण आवश्यक कम्प्याक्सन दिन नसकिएको बताएका छन्।

तर आयोजनाका प्रमुख संजीप साहमाथि भने चरम भ्रष्टाचार र कमिशनबाजीतर्फ गम्भीर आरोप लागेका छन्। सेवाग्राहीका अनुसार साह कार्यालयमा उपस्थित नहुई क्वाटर वा होटलमै बसेर कामकाज गर्ने, पीसी बुझाउनेलाई मात्र भुक्तानी दिने, जातीय पक्षपात गर्ने र हैकमवादी शैलीमा कार्यालय सञ्चालन गर्ने जस्ता गतिविधि गर्दै आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिका सभापति ई. तपेश्वर यादवले सामाजिक सञ्जालमार्फत प्रमुख साहले कार्यालयलाई ‘भ्रष्टाचारको अखाडा’ बनाएको भन्दै तत्काल छानबिनको माग गरेका छन्।

सडक निर्माणमा जनताको रगत–पसिनाको कर दुरुपयोग भएको भन्दै स्थानीयवासीले दोषीलाई कारबाही गर्न उच्च निकायको ध्यानाकर्षण गराएका छन्।यता,आयोजनाका प्रमुख संजीप साहलाई प्रतिक्रिया लिनको लागि पटकपटक सम्पर्क गरेपनी उनको सम्पर्क हुन सकेनन् ।

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार ११:०६
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !