वीरगन्जमा हैजाका बिरामी फेला

वीरगन्जमा हैजाका बिरामी फेला
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ७, शनिबार १०:०४
वीरगन्जमा हैजाका बिरामी फेला

पर्सा : वीरगन्ज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी फेला परेका छन्। संक्रमणबारे जानकारी पाएलगत्तै रोकथाम तथा नियन्त्रणका लागि वीरगन्ज महानगरले शुक्रबार रातिदेखि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ।

महानगरको स्वास्थ्य महाशाखा तथा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरूले संक्रमित क्षेत्र पुगेर अवस्थाको जानकारी लिनुका साथै स्थानीयलाई सतर्क गराउने कार्य सुरु गरेका छन्।

ADVERTISEMENT

महानगरका प्रमुख राजेशमान सिंहका प्रेस सल्लाहकार नवराज फुयालका अनुसार, मुर्ली टोलका करिब ३० जना स्थानीय झाडापखालाका कारण वीरगन्जस्थित तराई अस्पतालमा भर्ना भएका थिए। एकैपटक ठूलो संख्यामा बिरामी आएपछि अस्पतालले शंका व्यक्त गर्दै महानगरलाई खबर गरेको थियो।

नारायणी अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा गरिएको परीक्षणमा तीन जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पाइएको हो। संक्रमितमध्ये १६ वर्षीय बालक, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन्। तीमध्ये बालकको अवस्था गम्भीर रहेको महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले जानकारी दिए।

संक्रमणको स्रोत पत्ता लगाउन मुर्ली टोलमा प्रयोग भइरहेको पिउने पानीको नमुना थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ।

हैजा फैलिन नदिन र स्थानीयलाई सचेत बनाउन शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मीहरूको टोली घर–घरमा पुगेको छ। टोलीले हैजाबाट जोगिने उपायबारे जानकारी दिँदै शंकास्पद बिरामी भेटिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजान आग्रह गरेको छ।

सचेतना अभियानमा जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुर, महानगरका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरलगायतको टोली सक्रिय छ। स्वास्थ्य कार्यालय पर्साका अधिकृत ठाकुरका अनुसार पर्सामा पछिल्लो एक दशकयता हैजाको प्रकोप देखिएको हो।

भिब्रियो कोलेरा नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ। यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिन्छन्। समयमै उपचार नपाए ज्यान जाने जोखिम पनि हुन्छ।

महानगरले हैजाबाट जोगिनका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउन, तरकारी तथा हरियो सागपात उमालेको पानीले धोएर मात्र पकाएर खान, बासी खाना नखान, राम्ररी नपकाएको मासु वा माछा नखान, साबुनपानीले पटक–पटक हात धुन, खानपिनका भाँडाकुडा सफा राख्न र सफा शौचालय प्रयोग गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार १०:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !