मधेश प्रदेशमा लगानी सम्मेलनबारे छलफल सुरु

मधेश प्रदेशमा लगानी सम्मेलनबारे छलफल सुरु
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ५, बिहीबार १९:४९
मधेश प्रदेशमा लगानी सम्मेलनबारे छलफल सुरु

जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी लगानी सम्मेलनको तयारीलाई गति दिएको छ। यसै सन्दर्भमा बिहीवार प्रदेश राजधानी जनकपुरधाममा विशेष छलफल आयोजना गरिएको छ।

छलफलमा मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा, नीति आयोगका सदस्य राजकुमार सिंह, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार अशोक बैधलगायतको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार बैधका अनुसार सम्मेलनको मुख्य उद्देश्य प्रदेशका धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र प्राकृतिक स्रोतहरूको परिचय गराउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने, सहकार्य र साझेदारीमार्फत विकासलाई अघि बढाउने, रोजगारी सिर्जना गर्ने र मधेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी गन्तव्यका रूपमा स्थापित गर्नु हो।

सम्मेलनमार्फत कृषि, उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा लगानी अवसर प्रस्तुत गरिने तयारी छ। यसबाट आन्तरिक तथा बाह्य लगानी आकर्षित हुने, स्थानीय युवाका लागि रोजगारी सिर्जना हुने, धार्मिक–सांस्कृतिक सम्पदा संरक्षणसँगै पर्यटन प्रवर्द्धन हुने, कृषि र उद्योगमा उत्पादकत्व वृद्धि हुने र आर्थिक आत्मनिर्भरता मजबुत हुने अपेक्षा गरिएको छ।

प्रदेश सरकारका अनुसार लगानी सम्मेलन मधेश प्रदेशको दीगो आर्थिक विकास, सामाजिक समृद्धि र सांस्कृतिक संरक्षणका लागि एक महत्वपूर्ण अवसर हुनेछ। यसका लागि प्रदेश सरकार, निजी क्षेत्र, संघीय सरकार र अन्तर्राष्ट्रिय विकास साझेदारबीच सहकार्यमा कार्यक्रमलाई सफल बनाउन तयारी भइरहेको जनाइएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार १९:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !