जनकपुरसहित विभिन्न स्थानमा प्रदर्शन गर्दै ओलीको पुतला दहन

जनकपुरसहित विभिन्न स्थानमा प्रदर्शन गर्दै ओलीको पुतला दहन
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ४, बुधबार २०:५२
जनकपुरसहित विभिन्न स्थानमा प्रदर्शन गर्दै ओलीको पुतला दहन

जनकपुरधाम : सर्वोच्च अदालतले गौर घटनाको पुनः अनुसन्धान गर्न दिएको परमादेशको विरोधमा मधेश प्रदेशभर विरोध प्रदर्शन चर्किएको छ । विभिन्न जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाइएका छन् भने कतिपय स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको छ ।

जनकपुरधामको भानुचौकमा प्रधानमन्त्रीको पुतला जलाउनेक्रममा प्रहरी र समाजवादी युवा संघका कार्यकर्ताबीच झडप हुँदा पुण्यप्रताप पटेल र सुरज महोत पनि घाइते भए । उनलाई तत्काल उपचारका लागि धनुषा अस्पतालमा भर्ना गरिएको छ ।

ADVERTISEMENT

गौर घटना भएको करिब १९ वर्षपछि सर्वोच्च अदालतले पुनः अनुसन्धानका लागि परमादेश जारी गरेको हो । सो संघर्षमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादी कार्यकर्ताबीच भिडन्त हुँदा दर्जनौँको मृत्यु भएको थियो । गौरको राइस मिल परिसरमा मधेशी जनअधिकार फोरमले कार्यक्रम राखेको समयमै माओवादी नेतृत्त्वले पनि त्यहीँ कार्यक्रम तय गरेपछि झडप भएको थियो ।

मधेशी जनअधिकार फोरम विभिन्न पार्टीसँग एकीकृत हुँदै अहिले जनता समाजवादी पार्टी (जसपा) नेपाल बनेको छ । पार्टीका अनुसार गौर घटनामा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुले गरेको अनुसन्धान सार्वजनिक नगरिएको अवस्थामा अहिले अनुसन्धान गर्न परमादेश जारी गर्नु राजनीतिक प्रतिशोधको हिस्सा हो । विशेष गरी भूमि सम्बन्धी अध्यादेशमा जसपाको कडा अडानका कारणै यस्तो निर्णय आएको भन्दै मधेशका विभिन्न जिल्लामा विरोध जारी छ ।

सप्तरीदेखि पर्सासम्म जसपा नेपालका नेता तथा कार्यकर्ताले दैनिक विरोध कार्यक्रम गरिरहेका छन् । तर पार्टी अध्यक्ष उपेन्द्र यादवले भने निष्पक्ष अनुसन्धान भएमा सहयोग गर्न तयार रहेको बताइरहेका छन् ।

जसपा नेताहरुले भूमि अध्यादेशमा पार्टीले सरकारलाई सहयोग नगरेको र संविधान संशोधन गर्न दिएको समर्थनलाई बेवास्ता गरेर सरकारबाट बाहिरिएपछि वर्तमान सरकार र न्यायालयबाट प्रतिशोधपूर्वक परमादेश आएको आरोप लगाएका छन् ।

आज जनकपुरधामको भानुचोक, राजविराज, वीरगञ्ज, कलैया, मलंगवा, गौर, जलेश्वर, सिरहा लगायतका स्थानमा टायर जलाएर प्रदर्शन गरिएको छ । केही स्थानमा सामान्य झडप र प्रहरीसंग घम्साघम्सी पनि भएको बताइएको छ ।

यसअघि काठमाडौंमा भएको विरोध प्रदर्शनका क्रममा जसपाका करिब एक दर्जन नेताकर्मी पक्राउ परे पनि राति नै छोडिएको थियो । जसपा नेपालका नेताहरुले यो आन्दोलन कुनै दल विशेषको नभई मधेशी जनताको हकअधिकार र न्यायका लागि गरिएको दाबी गरेका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार २०:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !