एकैपटक तीन एआइजीको गीतमा सन्तोष राजको संगीत

एकैपटक तीन एआइजीको गीतमा सन्तोष राजको संगीत
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ४, बुधबार १७:०२
एकैपटक तीन एआइजीको गीतमा सन्तोष राजको संगीत

काठमाडौं : नेपाली, भोजपुरी र मैथिली सांगीतिक क्षेत्रमा सक्रिय संगीतकार सन्तोष राज सहनीले पहिलोपटक एकैसाथ तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) का गीतमा संगीत दिने भएका छन्।

नेपाल प्रहरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी तथा गीतकार टेकबहादुर तामाङ, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का प्रमुख एआइजी चन्द्र कुबेर खापुङ, र प्रहरी प्रधान कार्यालय नक्साल मानव स्रोत विकास विभागका प्रमुख एआइजी दानबहादुर कार्कीका गीतमा सन्तोष राजले संगीत भर्ने पक्का भएको हो। यी तीनैजना एआइजी स्वयं गीत लेख्ने गीतकार पनि हुन्।

ADVERTISEMENT

सन्तोष राजका अनुसार ती तीनवटै गीतहरुको संगीत तयारी अन्तिम चरणमा पुगेको छ। उनले भने, ‘इच्छाशक्ति भएपछि जुनसुकै पेशामा रहेका व्यक्तिहरूले सिर्जनात्मक काम गर्न सक्छन् भन्ने सन्देश यिनका गीतले दिन्छ।’

यसका साथै उनी ठूल्ठूला व्यावसायिक गीतमा पनि व्यस्त छन्। ‘बिदेशमा बोल’ बोलको गीतमा बलिउड गायक उदित नारायण र दीपा नारायणको स्वर हुनेछ भने शब्द सुरेन्द्र महर्जन ‘अमर’ को रहेको छ। उक्त गीत हाल रेकर्डिङ प्रक्रियामा छ।

त्यस्तै ‘भम तिम्रो आँगनिमा कहिले टेक्ने हो’ बोलको गीतमा बलिउड गायक कुमार सानु र गायिका सेलिना कुँवरको स्वर रहनेछ। गीतकार रमेश कोइरालाको शब्दमा सो गीतको रेकर्डिङ भइरहेको छ।

त्यस्तै, नेपाली चलचित्र ‘दर्शन नमस्ते–५’ को शीर्ष गीतमा गायक राजेश पायल राईको स्वर रहने भएको छ। सो गीत राजेन्द्र थापाको शब्दमा रेकर्ड हुँदैछ।

भोजपुरी गीतहरूमा पनि सन्तोष राज उत्तिकै सक्रिय छन्। ‘करना बहाना रानी’ बोलको गीतमा बिक्रम्त मेहता र शिल्पी राजको स्वर रहनेछ भने शब्द उमालाल यादवले लेखेका हुन्। सोहीत, ‘हम त भईनी तोहार’ बोलको गीतमा भने उनले आफैं संगीत र स्वर दिने भएका छन्।

सीआइबी प्रमुख रहेका एआइजी चन्द्र कुबेर खापुङ भदौ १८ गते आईजिपी (प्रहरी महानिरीक्षक) मा बढुवा हुने तयारी रहेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार १७:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !