जसपाका तीन सांसदसहित १८ भन्दा बढी नेताकार्यकर्ता पक्राउ

जसपाका तीन सांसदसहित १८ भन्दा बढी नेताकार्यकर्ता पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार २१:१४
जसपाका तीन सांसदसहित १८ भन्दा बढी नेताकार्यकर्ता पक्राउ

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन सांसदसहित १८ भन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ ।

मंगलबार बबरमहलमा गौर हत्याकाण्डको विरोधमा मसाल जुलुस निकाल्ने क्रममा जसपाका संघीय सांसद तथा पार्टीका प्रवक्ता मनिष सुमन, मधेस प्रदेश सांसद किरन साह, लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्ले पक्राउ परेका हुन्।

ADVERTISEMENT

प्रहरीले सो प्रदर्शनमा सहभागी पूर्व मधेस प्रदेश सांसद विक्की यादव, पूर्व सांसद शशि कपूर मिया, समाजवादी महिला संघकी केन्द्रीय अध्यक्ष निर्मला यादव, समाजवादी युवा संगठनका महासचिव दिलिप पटेल, उपमहासचिव रेनु राज सिंह, सचिव मनिष यादव, समाजवादी विद्यार्थी युनियनका महासचिव बलिराम कापरीलगायतलाई पनि नियन्त्रणमा लिएको छ।

त्यस्तै समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष मनिष यादव र केन्द्रीय सदस्य बबी सिंहसमेत पक्राउ परेको समाजवादी विद्यार्थी संगठनका महासचिव बलिराम कापरीले जानकारी दिएका छन्।

के छ पृष्ठभूमि ?

२०६३ साल चैत ७ गते रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाबीचको झडपमा माओवादी पक्षका २७ जनाको ज्यान गएको थियो।

पीडित परिवारले लामो समयसम्म न्याय नपाएको गुनासो गर्दै प्रहरी अनुसन्धान अघि नबढेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सोमबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले रौतहट जिल्ला प्रहरी कार्यालयलाई छानबिन अघि बढाउन परमादेश जारी गरेको छ। उक्त परमादेशसँगै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसमेत अनुसन्धानको दायरामा तानिने भएका छन्।

यद्यपि, यादवले आफू अनुसन्धानमा सघाउन तयार रहेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार २१:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !